स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडको तेस्रो साधारणसभा सम्पन्न भएको छ। चैत्र २१ गते शनिवार कम्पनीको गाई फार्म रहेको स्थान धनुषाको तल्लो गोद्वारमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले आ. व. २०८१ / ८२ को वार्षिक प्रतिवेदन , लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु तथा सम्बन्धित अनुसुचिहरु पारित गरेको छ। त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक बर्ष २०८२ / ८३ का लागी लेखापरिक्षक नियुक्त गरेको छ।
विषेश प्रस्ताव अन्तर्गत सञ्चालक समितिमा भएको हेरफेर अनुमोदन गरेको छ। प्रबन्धपत्र तथा नियमावलीमा संस्थापक शेयर धनी थप गर्ने, जारी र चुक्ता पुजी बृद्धि गर्ने लगायतका बुँदा संशोधनको लागि स्वीकृति प्रदान गरेको छ। सभाले सर्वसाधारणको लागी छुट्याईएको शेयर नियमानुसार सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ।
कम्पनीले यस अघि नै शेयर निष्काशन कार्यका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ। कम्पनीको जारी पुँजी ९ करोड रहेको छ भने कम्पनीले त्यसको ३० प्रतिशत अर्थात् २ करोड ७० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आर्थिक २०८३/८४ भित्र आईपीओ निष्काशन गरिसक्ने लक्ष्य लिएको छ। यस कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ११ लाख ९० हजार खुद नाफा कमाएको छ।
दुग्ध तथा दुग्ध जन्य पदार्थ जस्तै दहि, घ्यू, चकलेट र पनिर लगाएतका अन्य उत्पादन र प्याकेजिङ्ग गर्ने उद्देश्यका साथ कम्पनी स्थापना भएको हो। स्वदेशि उत्पादनको माध्यमबाट देशलाई दुग्ध तथा दुग्ध जन्य पदार्थमा आत्म निर्भर बनाउँने र उपभोक्ताहरुका लागि “गोठ देखि भान्सासम्म” भन्ने मूल नाराका साथ शुद्ध दुग्ध तथा दुग्ध जन्य परिकारहरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापित कम्पनीले हाल कम्पनीको नाममा रहेको धनुषा जिल्लाको गोदार स्थित २ बिघा जमिनमा जर्सी तथा होल्स्टोन जस्ता उत्कृष्ट जातका ७० वटाभन्दा बढी गाईहरुबाट दुग्ध उत्पादन गरी बिक्री बितरण गर्दै आईरहेको छ।
कम्पनीले निकट भविष्यमा प्याकेजिङ्ग उद्योग स्थापना गरी दुग्ध उत्पादन क्षेत्रका लागि एक उत्कृष्ट तथा प्रतिष्ठित कम्पनी बनाउने उद्देश्यका साथ अध्ययन तथा अनुसन्धान गरिरहेको जनाएको छ।













