Wednesday, June 24, 2026
spot_img

‘बाटेको धूप’बाट सुरु भएको ‘अमेजिङ ह्याण्डस्’: जसले दर्जनौँ नेपाली सामान विश्व बजारमा पुर्‍याउँछ

spot_img
spot_img

नेपालमा काम गर्न सकिन्न वा काम पाइन्न भन्ने भाष्य पछिल्लो पुस्तामाझ जबरजस्त रुपमा स्थापित गराइँदैछ । तर, लगनशीलता र मेहनत हुने हो भने नेपाल जति कर्मशील भूमी अरु हुन सक्दैन भन्ने उदाहरण बन्ने पात्रहरु पनि समाजमा उत्तिकै छन् ।

यीनै लगनशील पात्र मध्येकी एक हुन् मञ्जु भट्टराई । मञ्जु हाल सन् २०१९ मा सुरु भएको ‘अमेजिङ ह्याण्डस् नेपाल’को व्यवस्थापन सम्हालिरहेकी छिन् । नेपाली हस्तकलाका सामानहरु विश्व बजारमा पुर्‍याउने अभियानमा मञ्जुलाई उनका दाइ विष्णु भट्टराई सारथी बनेर सघाइरहेका छन् । मञ्जुका दाइ विष्णुका अनुसार ‘अमेजिङ ह्याण्डस् नेपाल’ १० लाख रुपैयाँ चुक्ता पूँजीबाट सुरु भएको हो ।

बाटेको धूपबाट काम सुरु, अहिले के के निर्यात हुन्छ ?

‘अमेजिङ ह्याण्डस् नेपाल’ सुरु गर्नु अगाडी विष्णु भट्टराई ह्याण्डीक्राफ्ट पसलमा काम गर्थे । उनले त्यहाँ काम गर्दा धेरै कुरा सिक्ने अवसर पनि पाए । त्यसपछि आफैँले सुरु गर्नुपर्छ भन्ने सोच पलायो । यसपछि सन् २०१९ बाट विष्णुकी बहिनी मञ्जुले व्यवस्थापकीय जिम्मेवारी सम्हाल्ने गरि ‘अमेजिङ ह्याण्डस् नेपाल’ नामक कम्पनी सुरु भयो ।

अमेजिङ ह्याण्डस् नेपालले ‘नेपाली बाटेको धूप’को निकासीबाट आफ्नो यात्रा प्रारम्भ गरेको हो । अहिले मञ्जुले यो कम्पनीमार्फत तामा पित्तलका सामानहरु, ब्रासलेट, नेकलेश, लकेट तथा अन्य गरगहनाहरु विभिन्न देशमा पुर्‍याउने काम गरिरहेकी छिन् । कुरुसले बुनेको टोपी, स्वीटर, सजावटका सामानहरु, नेपाली लोकताबाट बनेको नोटबुक, पानस, पोष्कार्ड लगायतका दर्जनौ सामानहरु युरोपका देशहरुसहित अमेरिका र अष्ट्रेलियामा पठाउने गरिएको मञ्जु बताउँछिन् ।

अहिले विश्वभरी नै ध्यान र योगाको प्रचलन बढ्दो छ । अमेजिङ ह्याण्डस् नेपालमा पनि ध्यान तथा योगामा बस्दा विछ्याइने कुशनहरुको अर्डर आउँछ, मञ्जु ति अर्डरहरुलाई माग बमोजिम पठाउँछिन् । ध्यान गर्दा विछ्याइने कुशन मात्रै होइन, ध्यानमा बस्दा एकाग्र हुन बजाइने सामानको पनि माग उत्तिकै छ ।

काठबाट बनेका सामानहरुको पनि माग धेरै छ । नेपाली काष्ठकलाका सामानहरुमा ‘वाल ह्याङ्गिङ मास्क’, गरगहना राख्ने बक्स, लाखे नाँचमा लगाइने मखुण्डोसहित काठबाट बनेका अन्य सजावटका सामानहरु विभिन्न देशमा पुर्‍याउने कामको अगुवाई गर्न पाएकोमा मञ्जु खुशी छिन् ।

‘ब्यापार के कति भयो भनेर हिसाब गर्दा त्यसको आकार सानै छ, तर नेपाली उत्पादनहरु विश्वका विभिन्न देशमा पठाउन पाउँदा गर्वको अनुभूति हुन्छ’ यत्ति भन्दा नभन्दै मञ्जुको मुहारमा खुशीको चमक भरिन्छ । उनी फेरि थप्छिन्, ‘एशियाली देशहरु कोरिया, जापान, सिङ्गापूर र मलेसियामा समेत हामीले सामान पठाउन थालेका छौँ, यी देशहरुमा विस्तारै माग बढिरहेको छ ।’

अहिले हर्बलका सामानसहित चिया कफी जस्ता नेपालका रैथाने उत्पादन पनि निकासी हुन्छ । यी सामानहरुको माग नेपालभित्रै पनि बढ्दो छ । विदेशमा मात्रै होइन, नेपालभित्र पनि ‘डेलिभरी’ हुन्छ ।

क्रिसमसका सामान पनि निर्यात

नेपालमा क्रिसमस राष्ट्रिय पर्वका रुपमा मनाइँदैन । यद्यपी, अहिले यो पर्व मनाउने प्रचलन बढ्दो छ । युवाहरुमा यसको ‘क्रेज’ बढिरहेको छ । मञ्जुका अनुसार नेपालबाट उनको कम्पनीमार्फत क्रिसमस मनाउन आवश्यक सामानसमेत निकासी हुन्छ । न्यूजील्याण्डबाट आयात गरिएको ‘उन’ प्रशोधन गरेर क्रिसमसका लागि पुतली लगायतका सामानहरु बनाइन्छ र निकासी गरिन्छ ।

सँगै, हातैले बनाइएका झोला, पर्स लगायतका सामानहरु पनि उल्लेख्य मात्रामा अर्डर आउने गरेका छन् ।

भगवान शिव र बुद्धका अनुयायी मुख्य ग्राहक

‘अमेजिङ ह्याण्डस् नेपाल’ले सबै खालका हस्तकलाका कलात्मक वस्तुहरु अन्तर्राष्ट्रिय बजारमा पठाउँछ । यीमध्ये तामा र पित्तल प्रयोग गरेर बनाइएका भगवान शिवजी र गौतम बुद्धका कलात्मक मुर्तिहरुको अर्डर उल्लेख्य मात्रा आउँछ । नेपाल तपोभूमी र भगवान गौतम बुद्धको जन्मस्थानसमेत भएकाले स्वभाविक रुपमा बुद्धमार्गीहरुको नेपालप्रति माया, सद्भाव र करुणा छ । उनीहरु आफैँ बुद्ध जन्मस्थान लुम्बिनीमा आउन नपाएपनि बुद्धका मुर्तिहरु घरमा राख्न चाहन्छन् र अर्डर गर्छन् ।

नेपालभित्र बाटै पनि बुद्धका मुर्तिहरुको माग आउने गर्छ । डाँडाकाँडामा टाँगिने झण्डाहरु पनि अमेजिङ ह्याण्डस् नेपालबाट बिक्री हुन्छ । रुद्राक्षका माला र घण्टीको माग पनि धेरै हुन्छ । यी सबै सामानहरु एउटै छानामुनि उपलब्ध हुन्छ ।

मन्त्र कुँदिएका ढुङ्गादेखि संगीतका बाध्यबाधक पनि

प्राकृतिक खनिजमा नेपाल उर्वर भूमी हो । यसको व्यवसायिक उत्पादनमा ठूला ठूला खानीहरुमा मात्रै मान्छको नजर पर्दै आएको छ । तर, अमेजिङ ह्याण्डस् नेपालले हिमाली भेगमा पाइने प्राकृतिक ढुङ्गाहरुमा विभिन्न धर्मग्रन्थका मन्त्रहरु कुँदेर तिनको निकासी गर्दै आएको छ । बुद्ध धर्मको त्रिपिटक होस् वा अरु कुनै ग्रन्थका मन्त्रहरुलाई कलात्मक ढङ्गले ढुङ्गामा कुँदिन्छ । यस्ता वस्तुहरु साजावटका लागि पनि प्रयोग हुन्छन् ।

सँगै, नेपाली परम्परागत सांगीतिक बाध्यबाधकहरु पनि विश्व बजारमा निकै माग हुनेमध्येमा पर्दछन् । गम्फू, डमरु, सारङ्गी जस्ता नेपाली रैथाने बाजागाजाहरु पनि अमेजिङ ह्याण्डस् नेपालमार्फत विश्वभरी पुगिरहेका छन् ।

गाँजाको बोटबाट प्राप्त हुने कच्चापदार्थ प्रयोग गरेर बनाइएका झोला, पर्स, जुत्ता, सल, ब्ल्याङ्केट जस्ता वस्तुहरुको माग उल्लेख्य मात्रामा छ । यी वस्तुहरुको पनि निकासी भइरहेको मञ्जु बताउँछिन् ।

सँगै, राँगा भैसीका हाड (हड्डी)बाट समेत बनाइने विभिन्न सामानहरु छन् । गरगहना, गरगहना राख्ने बक्स, लकेट, सजावटका सामानहरु आदि । यी वस्तु पनि अमेजिङ ह्याण्डस् नेपालमा उपलब्ध छन् ।

‘बधशालामा फालिएका हड्डीहरु संकलन गरेर यी सामानहरु बनाइन्छ, हामीलाई अर्डर आएपछि कार्गो, कुरियार गरेर हामीले उपलब्ध गराउँछौँ’ मञ्जुका दाइ विष्णु भन्छन्, ‘हामीले विश्व बजारमा पुर्‍याउने सामानहरु नेपालका विभिन्न ठाउँबाट आउँछन् । खासगरि, काठमाडौँ, भक्तपूर र ललितपूरबाट बढी लिन्छौँ । किनकी, हस्तकलाका लागि काठमाडौँ उपत्यका विश्वकै शीर्ष स्थानमा पर्छ ।’

ढुवानी महँगो हुँदा समस्या

विष्णु र उनकी बहिनी मञ्जुलाई व्यवसाय सुरु गर्दा हौसला थियो । तर, कोभिड–१९ का कारण सुरुमा सोचे जस्तो नभएपछि दाजु बहिनी केही निराश पनि भए । यतिसम्म कि, ‘यो काम छोडेर अरु नै केही पो गर्नुपर्छ कि’ भन्ने सोच पनि पलायो । तर, फेरि हिम्मत जुटाए र निरन्तरता दिए ।

कोभिडका बेलामा पनि सामानको अर्डर ठिकठिकै थियो । तर, कार्गो र कुरियर सेवा प्रदायकले ‘कोभिड सर्ज चार्ज’ भनेर शुल्क बढाए । जसका कारण भर्खर भर्खर व्यवसाय सुरु गरेका विष्णु जस्ता जुझारु युवालाई केही हतोत्साही बनायो । तर पनि उनीहरु बिचलित भएनन् ।

अहिले कोभिडको समस्याबाट बाहिर निस्कँदा पनि कार्गो र कुरियर सेवा प्रदायकले ‘चार्ज’ समायोजन गरेका छैनन् । ‘कोभिड सर्ज चार्ज’को सट्टा अरु नै शीर्षकमा त्यस बराबरको शुल्क जाडेर लिन थालेको उनको गुनासो छ । जसका कारण ढुवानी महँगो हुन जाँदा सोचे जस्तो कारोबार गर्न नसकिएको विष्णुको अनुभव छ ।

‘सामान अर्डर गर्ने सोचमा आएकाहरुले पनि ढुवानी चार्जका कारण महँगो हुने भएपछि अर्डर नगरी फर्किन्छन्’ उनी भन्छन्, ‘जसका कारण सोचे जस्तो व्यापार बढाउन सकिएको छैन । तैपनि प्रयास जारी छ, हतोत्साही छैनौँ, आशावादी छौँ ।’

ह्याण्डीक्राफ्ट उद्योगमा अधिकांश महिलाहरुले काम गरेका हुन्छन् । उनीहरुले मेहनत गरेर बनाएका समानहरु आफूमार्फत विश्व बजारमा पुर्‍याउन पाउँदा मञ्जु खुशी छिन् । हाल ‘अमेजिङ ह्याण्डस् नेपाल’मा विष्णु र मञ्जु दाजु बहिनीबाहेक ५ जना पूर्णकालिन कर्मचारी छन् । आवश्यकता अनुसार ‘पार्ट टाइमर’ कर्मचारीहरु पनि राख्ने गरिएको छ । यसरी, विष्णु र बहिनी मञ्जु यो कामलाई अझै विस्तार गरेर विदेशका कुना कुनामा नेपाली उत्पादन पुगेको हेर्ने दिन पर्खिरहेका छन् । अनि, त्यसैका लागि अथक मेहनत पनि जारी राख्दै आएका छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मौद्रिक नीतिका लागि परिसंघले पेश गर्यो सुझाव

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिका...

नियमन आयोगको अध्यक्षको लागि कसले कताबाट गर्दैछन् जोडबल ?

विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिको लागि रोचक रस्साकस्सी चलेको...

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक...

सुनचाँदीको भाउ घट्यो

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

रास्वपाकी सफल कोषाध्यक्ष लिमा अधिकारी उपसभापतिको उम्मेदवार बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रभागमा रहेर जिम्मेवारी सम्हालिरहेकी...
spot_img