विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिको लागि रोचक रस्साकस्सी चलेको छ। आयोगका पदाधिकारी नियुक्त गर्न गठित सिफारिस समितिले अध्यक्षको लागि प्राप्त आवेदकहरुको नाम सर्टलिस्ट गरि सर्टलिस्टमा परेकाहरुको प्रस्तुतीकरण र अन्तर्वार्ता पनि गरिसकेको छ ।
अध्यक्षको लागि ई. रुद्र प्रसाद गौतम, केशवध्वज अधिकारी, डा. रामप्रसाद धिताल, रामेश्वर प्रसाद कलवार, मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा. मधुसुधन अधिकारी, डा. भोलानाथ शर्मा अधिकारी, नारायण प्रसाद सापकोटा, र डा. शान्तीकला सुवेदीको आवेदन परेको थियो। जस मध्ये सिफारिस समितिले केशवध्वज अधिकारी, डा. राम प्रसाद धिताल, मधुप्रसाद भेटवाल, मोति बहादुर कुँवर, डा. मधुसुदन अधिकारी, भोलानाथ शर्मा घिमिरे र नारायण प्रसाद सापकोटालाई सर्ट लिस्ट गरेको छ।
यी मध्ये अध्यक्षको लागि सबैभन्दा चर्चामा डा. मधुसुधन अधिकारी रहेको बताईएको छ। सरकारले ल्याएको अध्यादेशको कारण पदमुक्त हुनु अघि उनी आयोग कै सदस्य थिए। उनले त्रिभुवन विश्वविद्यालयको साथै नेदरल्याण्डबाट समेत एमबीए गरेका छन् । उनले काठमाडौँ विश्वविद्यालयबाट एमफिल र त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गरेका छन् । उनीसँग जलविद्युत, सोलार ऊर्जा, ग्रामिण विद्युतीकरण, नवीकरणीय उर्जामा ३० वर्ष भन्दा बढीको अनुभव रहेको छ। वैकल्पिक उर्जा प्रबर्दन केन्द्रको नेतृत्व सम्हालिसकेका उनीसँग विश्व बैंक, एशियाली विकास बैंक लगायतका निकायको लागि विज्ञ सदस्य र कन्सल्टेन्टको रुपमा काम गरेको अनुभव पनि रहेको छ।
उनी बुटवलका हुन् । पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि बुटवल कै भएकोले उनले मन्त्री लम्सालमार्फत र कानून मन्त्री सोबिता गौतममार्फत पहल गरेको चर्चा बजारमा छ। डा. अधिकारीको श्रीमती निर्मला अधिकारी भट्टराई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव छिन्, जसको लाइन मिनिस्ट्री कानून मन्त्रालय हो।
तर डा. अधिकारीमाथि एमालेको कार्यकर्ता रहेको आरोप लाग्ने गरेको छ। चुनावको बेला उनी कार्यालय विदा नै लिएर चुनाव प्रचारमा खटिएको स्रोतको दाबी छ। उनी कुनै समय एमालेको उर्जा विभागमा पनि रहेको र दोस्रो एम अधिकारी जस्तै नै रहेको चर्चा बजारमा चल्ने गरेको छ।
तर डा. अधिकारीले भने राजनीतिक आस्था हुनु छुट्टै विषय र पार्टीमा लाग्नु छुट्टै विषय भएको बताए । बिजनेशपानासँग कुरा गर्दै उनले मतदान गर्नु, जुनसुकै पार्टीले आयोजना गरेका कार्यक्रममा अतिथिको रुपमा सहभागी हुनु र पार्टीमै लाग्नु फरक विषय भएको उल्लेख गरे। आफु राजनीति गर्ने व्यक्ति नभएको भन्दै उनले कुनै पनि पार्टीमा संलग्न नरहेको बताए। नियुक्ति पाउँन खोजिरहेकाहरुले यस्तो अफवाह फैलाएको हुन सक्ने उनी बताउछन् । आफु प्रोफेसनल व्यक्ति भएकोले विज्ञता र क्षमता अनुसार नै सर्टलिस्टमा परेको उनको भनाई छ।
सिफारिस समितिका सदस्यहरुसँग डा. अधिकारीको घनिष्ट सम्बन्ध पनि रहेको बताईन्छ। उनी सिफारिसमा पर्ने निश्चित जस्तै रहेको र विगतमा एमालेसँगको निकटतालाई देखाएर रोकिएको अवस्थामा बाहेक अध्यक्षको लागि उनको सम्भावना अधिक रहेको स्रोत बताउछ।
त्यस्तै अध्यक्षको लागि मधु भेटवालको पनि सम्भावना रहेको बताईन्छ। भेटवाल नेपाल सरकारका पूर्व सचिव हुन् । ५८ वर्षे उमेर हदका कारण उनले गत २०८२ जेठमा अनिवार्य अवकाश पाएका थिए। अवकाश हुँदा उनी जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव थिए। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शाखा, महाशाखा र विभागमा काम गरेका थिए।
भेटवाल रास्वपा निकट रहेका छन् । उनी रास्वपाको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागका सल्लाहकार समिति सदस्य हुन् । उनले रास्वपा कै सांसद रहेका अर्का इन्जिनियर श्रीराम शर्मा मार्फत पहल गरेको बताईन्छ। उर्जा क्षेत्र कै लामो अनुभव रहेको र रास्वपासँग निकट रहेकोले उनको पनि सम्भावना रहेको स्रोत बताउछ।
त्यस्तै सिफारिस मै पर्न सक्ने अर्को नाम डा. राम प्रसाद धितालको रहेको बताईन्छ । सरकारले ल्याएको अध्यादेशको कारण पदमुक्त हुनु अघि उनी आयोग कै अध्यक्ष थिए भने त्यस अघिको कार्यकालमा आयोगको सदस्य थिए। उनी अध्यक्ष हुँदा आयोगलाई संथागत बनाउन काम गरेका थिए। उनकै पालामा आयोगले पहिलो पटक आफ्नै स्थायी कर्मचारी नियुक्त गरेर काम थालेको थियो। आयोगको आफ्नै प्रशासनिक विनियमावली, आफ्नै आर्थिक विनियमावली,आफ्नै खरिद विनियमावली, आफ्नै निर्णय प्रक्रियाको मोडल निर्माणको काम उनी अध्यक्ष हुँदा नै भएका थिए। उनीसँग नेपालो र विदेशमा गरि जलविद्युत, सोलार ऊर्जा, ग्रामिण विद्युतीकरण, नवीकरणीय उर्जामा झन्डै ३० वर्षको अनुभव रहेको छ। उनले एशियाली विकास बैंकको लागि पनि विज्ञ सदस्यको रुपमा काम गरिरहेका छन् ।
उनले जर्मनीबाट नवीकरणीय उर्जामा मास्टर्स गरेका हुन् भने त्रिभुवन विश्वविद्यालयबाट नवीकरणीय उर्जामै पीएचडी गरेका छन् । डा. धिताललाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अघि बढाउँन चाहेको बजार चर्चा छ। यद्यपि डा. धितालले भने कहिकतैबाट पनि आफुले कुनै पनि पहल वा जोडबल नगरेको बताउने गरेका छन् । सरकारले क्षमता, विज्ञतालाई अधार मानेर नियुक्ति प्रक्रिया अघि बढाउछ कि बढाउदैन भन्ने हेर्नलाई आवेदन दिएको र सर्टलिस्टमा परेसंगै क्षमता र विज्ञतालाई आधार बनाएको देखिएको उनले निकटकालाई भन्ने गरेका छन् । यस अघि पनि आफु विज्ञता र क्षमताले नै नियुक्त भएको सन्देश दिन सकियोस् भनेर पनि फेरी आवेदन दिएको उनले बताउने गरेका छन् ।
त्यसोत एकथरी समूहले पहिला पदमुक्त गरेकालाई फेरी नियुक्त गर्न नहुने बताउने गरेको छ। तर त्यस समय हुलमुलमा क्षमतावान व्यक्तिहरुपनि बाहिरिएको र क्षमता भएका योग्य व्यक्तिलाई पुन: नियुक्ति गर्दा फरक नपर्ने अर्कोथरि समूहको भनाई छ। विभिन्न निकायमा पदमुक्त भएकाहरुनै फेरी नियुक्ति भएको उदाहरण पनि रहेका छन् । साथै रास्वपा सभापति रवि लामिछानेले पदमुक्त भएतापनि योग्य, विज्ञ र क्षमतावानहरु फेरी नियुक्ति हुन सक्ने भनेर उल्लेख गरेको पनि उनीहरुको भनाई छ। नियुक्ति नै नगर्ने भए सिफारिस समितिले सर्टलिस्टमै नपार्ने चर्चा पनि चल्ने गरेको छ।
सिफारिसमा पर्न सक्ने अर्को नाम केशवध्वज अधिकारीको रहेको बताईन्छ। उनी पूर्व सहसचिव हुन्। उनले उर्जा मन्त्रालय र अन्तर्गतका निकायमा लामो समय काम गरेका थिए । उनी ऊर्जा क्षेत्रका विज्ञको रूपमा सक्रिय छन्।
त्यस्तै सर्टलिस्टमा परेका मध्ये नारायण प्रसाद सापकोटा र मोति बहादुर कुँवर पनि पूर्व सहसचिव हुन् । अध्यक्ष र सदस्य दुवै तर्फ आवेदन दिएका सापकोटा सदस्यको लागि पनि सर्टलिस्ट भएका छन् । अध्यक्षको सर्टलिस्टमा परेका डा. भोलानाथ शर्मा घिमिरे पुल्चोक क्याम्पसका प्रोफेसर हुन् ।
यद्यपि उर्जा मन्त्रालय स्रोतले भने हरेक व्यक्तिलाई केलाएर, उनीहरुको पृष्टभूमि हेरेर , विगतका ट्रयाक रेकर्ड हेरेर मात्र नियुक्ति हुने भएकोले अहिले नै कसको सम्भावना छ भन्न नसकिने बताएको छ। यस अघि नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति हुँदा अर्थमन्त्रीले गरेको नियुक्ति गलत नहोस् भनेर व्यक्तिको १० पुस्ते विवरण केलाएरमात्र नियुक्त गरिने बताएका थिए। यता पनि विवाद नहुने तरिकाले नियुक्ति हुने बताईन्छ।












