नेपालले सार्वभौम क्रेडिट रेटिङ (कन्ट्री रेटिङ)मा डबल बी माइनस नतिजा प्राप्त गरेको छ । पहिलोपटक भएको सार्वभौम क्रेडिट रेटिङमा नेपालले पाएको डबल बी माइनस नतिजालाई विज्ञहरुले सुःखद नतिजा भनेका छन् ।
बैकिङ्ग विज्ञ अनलराज भट्टराईले पहिलो सार्वभौम क्रेडिट रेटिङमा डबल बी माइनस नतिजा प्राप्त गर्नु मुलुकका लागि राम्रो उपलब्धि भएको बताएका छन् । पहिलो पटकको रेटिङमा ‘बी क्याटागोरी’मा पर्नु भनेको राम्रो मान्न सकिने उनको भनाइ छ ।
‘ए वा ग्रेड भनेको कम्प्लिट इन्भेष्टमेन्ट ग्रेड हो, बी क्याटागोरी पनि इन्भेष्टमेन्टका लागि राम्रो ग्रेड मानिन्छ’ उनले भने, ‘यस आधारमा नेपालले प्राप्त गरेको डबल बी माइनसको नतिजा आउनु भनेको राम्रो मान्नुपर्छ ।’
उनले नेपालको कर्जा तिर्ने क्षमता राम्रो भएकाले पनि नतिजा सुखद आएको बताए । कुल राजस्व संकलनको ३ खर्ब हाराहारी रकम कर्जाको साँवा र ब्याज भूक्तानीमा जाने भएपनि यो अंक स्थिर रहँदा मुलुकको क्रेडिट रेटिङमा सुखद अंक प्राप्त गर्न सहयोग पुगेको भट्टराईको बुझाई छ ।
‘हाम्रो इकोनोमीको स्टेवल आउटलुक देखियो, दातृ संस्था, दातृ मुलुक र विदेशी एजेन्सीबाट लिएको ऋण तिर्न पनि हामीलाई प्रेसर नहुँदा रि–पेमेन्ट क्यापासिटीमा दबाब छैन’ उनले भने, ‘डबल बी माइनस नतिजाले पनि इन्भेष्टमेन्ट फ्रेण्डलीको अवस्था देखाउँछ ।’
नेपालको सोभरेन क्रेडिट रेटिङ गरेको फिच क्रेडिट रेटिङ कम्पनीले आफ्नो रिपोर्टमा नेपालको ‘स्ट्रेन्थ’ र ‘वीकनेश’ विषय औल्याएको हुनाले उसले औल्याएका विषय सुधार गर्दै जाँदा त्रिपल बीसम्म पुग्न सकिने उनको भनाइ छ ।
‘
यस्तै, पूर्व अर्थसचिव रामेश्वर खनाल पनि नेपालले पहिलो कन्ट्री रेटिङमा पाएको नतिजा सुःखद रहेको बताउँदै यसले वैदेशिक लगानीकर्ताहरुलाई आकर्षित गर्न मद्दत पुग्ने बताउँछन् । रेटिङको नतिजाले नेपालमा आर्थिक सुधार भइरहेको छ भन्ने देखाउने भएकाले अन्तर्राष्ट्रिय वित्त बजारबाट नेपालले र नेपाली वित्तीय संस्थाहरुले ऋण लिन समेत सहज हुन् उनको अपेक्षा छ ।
विदेशी लगानीकर्ताहरुले लगानी गर्नु अगाडी आफ्नो लगानी कत्तिको सुरक्षित छ भनेर मूल्यांकन गर्न सम्बन्धित मुलुकको कन्ट्री रेटिङलाई हेर्ने गर्दछन् । साथै, अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र जारी गरी ऋण उठाउन पनि सम्बन्धित कन्ट्रीको क्रेडिट रेटिङ अनिवार्य रुपमा चाहिन्छ । यसकारण नेपालको निजी क्षेत्रले विगतदेखि नै मुलुकको कन्ट्री रेटिङ हुनुपर्ने आवाज उठाइरहेको थियो ।
बीबीबी माइनसदेखि माथिको रेटिङलाई लगानीका लागि राम्रो मानिन्छ । सी ग्रेडको रेटिङले भने सम्बन्धित देशमा लगानीको अवस्था जोखिमपूर्ण रहेको बताउँछ ।
क्रेटिङ रेटिङ गर्दा ऋण तिर्ने क्षमता र अनुपात, आन्तरिक मुद्रा प्रदायको दर, आयात तथा निर्यातको अवस्था लगायतका सूचकहरु हेर्ने गरिन्छ ।













