Friday, May 8, 2026
spot_img

दशैँले छोपिसक्दा पनि बजारमा सुनसान, व्यवसायी भन्छन्, ‘मन्दी उत्कर्षमा पुग्यो’

spot_img
spot_img

दशैँ लागेसँगै भिड बढ्ने काठमाडौंका व्यापारिक केन्द्र असन, न्युरोड, महाबौद्ध, भोटाहिटीलगायतका बजार अहिले सुनासान छ । विगतको तुलनामा २५ प्रतिशत पनि ग्राहक नआएको व्यवसायीले गुनासो गरेका छन् । बजारमा ग्राहक बढ्ने र केही राहत मिल्ने आशा भएपनि चाडबाडकै सँघारमा आएको बाढीपहिरो डुबानले निराशा ल्याएको उनीहरू बताउँछन् ।

चाडबाडमा व्यापार होला भनेर ऋण गरेर हालेको सामान प्रकोपले कतिको पसलसम्मै आएको छैन । सामान भएपनि मन्दीले ब्याज, कर, भाडा तिर्न गाह्रो भएको व्यापारीको गुनासो छ ।

ठाउँठाउँमा सडक अवरुद्ध छन् । हजारौं घरवार विहीन भएका छन् । युवा जनशक्तिको विदेश पलायन, बैंकहरूले ब्याजदरमा बेला बेलामा कस्ने गरेको विगतको नजिरका कारण खुलेर लगानी गर्न नसक्नु जस्ता कारणले व्यापारमा रौनकता थप्न नसकेको एक व्यापारीले बताए ।

१४ वर्षदेखि न्युरोडमा कपडा बेच्दै आएकी सनिसा डंगोल बजार सुनसान भएको बताउँछिन् ।

उनी भन्छिन, ‘कोरोनाकालको मन्दीले अहिलेसम्म उक्सिन सकेका छैनौं । दशैँले चहलपहल बढाउँला भन्ने सोचेको थियो । ठेलमठेल गरेर हिँड्नुपर्ने बाटो हेर्नुस् न कति खुल्ला ।’

ललितपुर च्यासका ऋषिराम सापकोटाको पनि उस्तै पिर छ । उनी भन्छन्, ‘साढे ४ बज्यो बनी भएको छैन । चाडबाडको सिजनमा पनि यस्तो हुन्छ त १ हामी होलसेल जुत्ता व्यापारीलाई यति बेला त मारामार हुनुपर्ने ।’

सापकोटाले १० वर्ष भयो जुत्ता व्यापार गर्न थालेको तर अहिलेजस्तो कहिले नभएको बताउँछन् । फेरि दुईदिनको वर्षाले त ग्राहकहरू सामान अर्डर गर्न समेत आउन नसकेको उनले बताए ।

कमलपोखरीमा ३० वर्षभन्दा बढीदेखि व्यापार गर्दै आएका प्रदीप जैन भन्छन्, ‘यस पटक त २० प्रतिशत पनि व्यापार गर्न सकेनौं । फेसन गर्ने युवापुस्ता जति सबै विदेश अनि कसले किनेर लाओस् त नयाँ नयाँ डिजाइनका कपडा ।’

बाटोमा मानिसको आवतजावत देखिएपनि किन्न नभई घुम्न आउने गरेको व्यापारीहरू बताउँछन् ।

न्युरोडका कपडा व्यापारी गणेशप्रसाद दुवाडी प्रकोपले व्यवसायलाई थप समस्या पारेको बताए । आफूहरूले ऋण गरेर उठाएको सामान पनि पसलसम्म आउन नसकेर बाटोमा फसेको दुवाडीको भनाइ छ । रञ्जना महलका स्टार जिन्स सञ्चालक संयोग श्रेष्ठ पोहोरभन्दा २० प्रतिशत पनि व्यापार नभएको बताउँछन् । उनका अनुसार दशैँको माहोलको तरखरमा बाहिरबाट व्यवसायी आउन नसक्दा झन् चौपट भएको छ ।

महाबौद्धका व्यापारी रमेशकुमार अधिकारीले पनि दशैँ नजिकिए पनि व्यापार शून्य अवस्थामा रहेको बताए । नयाँ वर्ष लागेसँगै व्यापारमा आएको कमी दशैँसम्म आउँदा ७५ प्रतिशतले घटेको उनी बताउँछन् ।

के भन्छन् व्यापारीका नेता ?

नेपाल राष्ट्रिय व्यापार महासंघका निवर्तमान अध्यक्ष नरेश कट्वालले यस वर्षको दशैँ व्यवसायी र आम नागरिकको लागि दशाको रूपमा देखापरेको बताउँछन् । अहिले मुलुक नै व्यापार व्यवसायभन्दा पनि बाढीपहिरोको चपेटामा परेकोले दशैँमा रौनक नभएको उनले बताए ।

अहिलेको मन्दी कोरोनाकालकै जस्तो भएको भन्दै कट्वालले २५ प्रतिशत पनि व्यापार नभएको अवस्थामा बाढी पहिरोको कारण शिथिल बनाएको बताए । सक्रिय युवा विदेश पलायन भएकाले पनि व्यापारमा कमी आएको भन्दै उनले बाढीपहिरोको कारण काठमाडौं उपत्यकाबाट देशभर जाने सडक मार्ग बन्द भएकाले होलसेल व्यवसायीलाई थप समस्या भएको बताए ।

कट्वाल भन्छन्, ‘त्योबेला मास्क लगाएर हिँड्थे, अहिले नलगाई हिँड्छन् । त्यतिमात्र फरक हो । व्यापारिक प्रकृति उस्तै छ । फेरि वर्षाले पनि प्रभाव पारेको छ ।’

बैंकबाट ऋण लिएर लगानी गरेकाहरू ब्याजदर बढेपछि तर्सिएको भन्दै उनले कतै सस्तो ब्याजदरको पासो थापेर फेरि बढाउने त होइन भन्ने आशंका बढेको कट्वालले बताए ।

‘दशैँमा बजार चलायमान हुने देखिएको छैन । बजारमा बैंकिङ समस्या र सरकारको कर नीति लगायतको कारण बजार चलायमान हुन सकेको छैन । व्यवसायीहरूमा दैनिक निरासा छाएको छ । लगानी सुरक्षित गर्ने अवस्था पनि छैन । भन्सार दरदेखि स्थानीय कर, घरभाडा, ढुवानीसमेत बढेको हुँदा बजार मूल्य पनि बढेर उपभोक्ताको हैसियतअनुसार बजार मूल्य छैन । केही वृद्धि भएको छ । मुलुकमा युवाहरू सबै विदेश पलायन भएकाले पनि बजारमा मानिसहरु छैनन् । उद्योगी व्यवसायीहरू पनि विदेश पलायन हुनु पर्ने सोचमा पुगेका छन् । बजार विगतको तुलनामा २५ प्रतिशतमा सीमित भएको छ । २५ प्रतिशतको व्यापारले सबै कुराहरु धान्दैन । बाढी पहिरोबाट भएको सडक पूर्वाधार सरकारले तत्काल बनाउँदै यात्राको लागि सहज वातावरण बनाउन जरुरी छ ।’

राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठ दैनिक ७ हजार मानिसहरु विदेश गइरहेकाले नेपालमा कसलाई सामान बिक्री गर्ने भन्ने अवस्था आएको बताउँछन् । उपभोग गर्ने युवा श्रम तथा अध्ययनको लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको उनी सुनाउँछन् ।

श्रेष्ठ पनि कोभिडपछि शुरु भएको आर्थिक मन्दी यस वर्षको दशैँमा आएर चरम उत्कर्षमा पुगेको देखिएको बताउँछन् ।

श्रेष्ठ भन्छन्, ‘मुलुक नै मन्दीमा छ । कोभिडपछि क्रमशः मन्दी शुरू भएर अहिले चरम बिन्दुमा गएको अवस्था छ । लामो समयदेखि व्यापार चलायमान हुन सकेको छैन । उपभोक्ताको कमीको कारण पनि बजार चलायमान हुन सकेको छैन । बजारमा उपभोग वृद्धि गर्ने युवा जनशक्ति विदेश पलायन भएको कारण पनि व्यापारमा कमी भएको हो । मानिसहरूको क्रय शक्ति घटेको छ । काठमाडौं बाहिरको व्यापारको अवस्था पनि उस्तै छ । बाढी पहिरोको कारण काठमाडौं नाकाबन्दीको अवस्थामा छ ।’

रञ्जना व्यापार संघका अध्यक्ष हरिप्रसाद पाण्डेले पनि बजार व्यापार २० देखि २५ प्रतिशतमा झरेको बताए । व्यवसायी मारमा परेको भन्दै उनले सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराए । दशैँ लाग्ने दुई हप्ताअघि बजार भिडभाड हुने गरे पनि यो वर्ष सुनसान रहेको पाण्डे सुनाउँछन् ।

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतम दशैँको समयमा व्यापारमा रमाउनु पर्ने व्यवसायी बाढीपहिरोको कारण समस्यामा परेको बताउँछन् ।

उनले भने, ‘तातोपानी र केरुङ नाका जोड्ने सडक बाढीले बगाउँदा त्यहाँबाट सामान आउन ठप्प भएको छ । व्यापार गरेर दशैँमा राम्रै खाने र राम्रो लगाउने योजना बनाउने बेला हो । तर, बाढीपहिरोका कारण व्यापार समेत ठप्प छ । यस्तो बेला राज्यले तत्काल सहजीकरण गर्न आवश्यक छ ।’

सिभिल व्यापार संघ अध्यक्ष रत्नबहादुर घिमिरेले बजारमा दशैँ अहिलेसम्म नलागेको बताए । मलका व्यवसायी गेम खेलेर र टिकटक हेरेर बस्न बाध्य भएको भन्दै उनले घटस्थापनादेखि केही ग्राहक आउने पर्खाइमा रहेको बताए ।

एकता व्यापार संघका अध्यक्ष तेज आचार्य दशैँ लाग्नुअघिको १०÷१२ दिनको व्यापारले लगानी उठाउने र ऋण तिर्ने आशा रहे पनि अहिले आएर त्यो आशा मर्दै गएको बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गोल्याण ग्रुपद्वारा जेन्जी सहिदका सन्तानलाई शैक्षिकवृत्ति र अभिभावकलाई स्वास्थ्य बीमा सुनिश्चित

गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका लागि शैक्षिकवृत्ति र स्वास्थ्य...

Nepal Mediciti Showcases Nepal’s Healthcare Excellence at International Expo

Nepal Mediciti has marked a historic milestone by becoming...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४...

१५ जनालाई पदमुक्त गर्ने सरकारको निर्णय

सरकारले विदेश स्थित १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गरेको...

वैशाख २८ गते राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने

वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै...

नर्भिक हस्पिटल आईपीओ: ११०० मूल्य खोजेकोमा ४६० रुपैयाँ मात्र कटअफ, अब के हुन्छ ?

बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशनको क्रममा योग्य संस्थागत लगानीकर्ताबाट...
spot_img