नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले महिला उद्यमीहरूको क्षमता अभिवृद्धि र नीति वकालतको लागि बिमस्टेक सीसीआई गठन गर्नु पर्ने बताएकी छन् । भारतको नयाँदिल्लीमा आयोजित बिमस्टेक बिजनेस समिट २०२४ मा आर्थिक सशक्तिकरणको समावेशी सम्बन्धमा विषयक छलफलमा बोल्दै पूर्वअध्यक्ष राणाले यस्तो बताएकी हुन् ।
उनले निरन्तर र आर्थिक गतिविधिमा समावेशीकरणका नयाँ उब्जिएका चुनौतीहरूलाई सम्बोधन गर्न सरकार र निजी क्षेत्रले महिलाको वित्तमा पहुँच बढाउन, सीप विकास तालिम र शिक्षा, मार्गदर्शन अवसर र सहजीकरण गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिएकी हुन् ।
उनले सीसीआईले नेपाल र अन्य सदस्य राष्ट्रका महिला उद्यमीहरूलाई उनीहरूको व्यवसायिक सीप अभिवृद्धि गर्न, बजार बुझ्न मद्दत गर्न कार्यशाला, सेमिनार र तालिमको व्यवस्था गरिनुपर्ने उल्लेख गरेकी छिन् ।
पूर्वअध्यक्ष राणाले आर्थिक समावेशीकरणका धेरै फाइदाहरू रहेको भन्दै स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई थप गतिशील र कार्यस्थललाई थप नवीन बनाउने धारणा राखिन् । उनले लैङ्गिक समानता कायम राख्दा अर्को वर्षको अन्त्यसम्ममा विश्वको वृद्धिमा १२ ट्रिलियन अमेरिकी डलर थपिने बताइन् । उनका अनुसार सरकार र निजी क्षेत्रका व्यवसायिक निकायहरूमा महिलाको आर्थिक सहभागितामा रहेका अवरोधहरू हटाउन सबैले पहल गर्न आवश्यक छ ।
उनले बिमस्टेक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीमा महत्वपूर्ण भूमिका खेल्ने नेपाली उद्यमीहरूलाई सम्बोधन गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको पनि उल्लेख गरिन् ।
ु
बिमस्टेकमा बिमस्टेक सिसिआई गठनले व्यापार र लगानी अवसर वृद्धि गर्न काम गर्ने बताउँदै राणाले बिमस्टेक सीसीआईले आयोजना गर्ने व्यापार मेला, व्यापार मञ्च र लगानी सम्मेलनमा सहभागी भएर नेपाली उद्यमीहरूले आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्न, विदेशी लगानी आकर्षित गर्न र नयाँ बजार खोज्न सक्ने पनि बताएकी छिन् ।
पूर्वअध्यक्ष राणाले नेपाली महिला उद्यमीहरूको संलग्नता विशेष उल्लेखनीय रहेको बताउँदै बिमस्टेकले उनीहरूको ‘नेटवर्क’ विस्तार गर्न, उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्न र व्यवसायमा महिलाहरूका लागि उपयुक्त स्रोत र प्रशिक्षण कार्यक्रमहरूमा पहुँच विस्तार गर्न ‘प्लेटेफर्म’ प्रदान गर्ने बताएकी छिन् ।
बिमस्टेक सिसिआईमा नेपाली उद्यमीहरूको सक्रिय सहभागिताले क्षेत्रीय आर्थिक एकीकरणलाई बढावा दिन, व्यापार अवसरहरू बढाउन र नेपाल र बृहत्तर बिमस्टेक क्षेत्रको दिगो विकासलाई प्रवर्द्धन गर्न मद्दत गर्ने समेत उनको भनाइ छ ।












