नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) तथा हाउस अफ राजकर्णिकारले १३ जुलाई २०२६ का दिन काठमाडौंमा Nepal-India Food and Beverage Forum 2026 सफलतापूर्वक आयोजना गरेका छन् ।
उक्त फोरमले नेपालको खाद्य तथा पेय पदार्थ एवं आतिथ्य (हस्पिटालिटी) क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकै थलोमा ल्याई नेपाल–भारतबीच द्विपक्षीय सहकार्य विस्तारका अवसरहरूबारे छलफल गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको थियो ।
यो Nepal-India Food and Beverage Forum 2026 प्रदर्शनीको पूर्वतयारी कार्यक्रमका रूपमा आयोजना गरिएको हो । उक्त अन्तर्राष्ट्रिय प्रदर्शनी ११–१३ सेप्टेम्बर २०२६ मा भारतको वाराणसीस्थित गिरिजा देवी संस्कृत सङ्कुल मा आयोजना हुने तय गरिएको छ । यस कार्यक्रमले आगामी प्रदर्शनीबारे जानकारी गराउनुका साथै भारतीय बजारमा आफ्नो उपस्थिति विस्तार गर्न इच्छुक नेपाली व्यवसायीहरूलाई सहभागिताका लागि प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो ।
कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष कुनाल कायलले खाद्य, पेय पदार्थ तथा आतिथ्य क्षेत्रमार्फत नेपाल–भारत आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । साथै, यस्ता उद्योग केन्द्रित फोरमहरूले व्यवसायिक सञ्जाल विस्तार, बजार पहुँच वृद्धि तथा भारतीय सरोकारवालासँग सीमापार साझेदारी विकासका लागि महत्वपूर्ण अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा हाउस अफ राजकर्णिकारका अध्यक्ष वीरेन्द्र राजकर्णिकारले हाउस अफ राजकर्णिकारको परिचय प्रस्तुत गर्दै संस्थाको भूमिका तथा व्यापार एवं उद्योग सहकार्य प्रवर्द्धनका लागि सञ्चालन गरिएका विभिन्न पहलहरूको जानकारी गराइएको थियो। त्यसपछि राजन शर्माले विशेषज्ञ प्रस्तुति दिँदै नेपाल–भारत व्यापार मेला प्रदर्शनीको उद्देश्य, व्यवसायिक अवसरहरू, प्रदर्शकहरूले विशेष ध्यान दिनुपर्ने चुनौतीहरू तथा वाराणसीमा आयोजना हुने आगामी प्रदर्शनीमा सहभागी नेपाली उद्यमहरूले प्राप्त गर्न सक्ने सम्भावित लाभहरूबारे विस्तृत जानकारी प्रदान गरेका थिए ।
उक्त फोरममा नेपालको होटल, रेस्टुरेन्ट तथा क्याटरिङ (HoReCa) उद्योगका प्रतिनिधिहरू, खाद्य तथा पेय पदार्थ उत्पादकहरू, आतिथ्य व्यवसायीहरू, उद्यमीहरू, निर्यातकर्ताहरू, वितरकहरू तथा अन्य उद्योग क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले नेपाल–भारतबीच द्विपक्षीय व्यापार विस्तार, बजार पहुँच अभिवृद्धि तथा थप सुदृढ व्यावसायिक साझेदारी विकासका विषयमा विचार–विमर्श गरेका थिए ।
नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरमजस्ता पहलमार्फत नेपाल–भारत उद्योग वाणिज्य संघले दुवै देशका व्यवसायीहरूबीच अर्थपूर्ण संवादलाई निरन्तर प्रोत्साहन गर्दै व्यापार, लगानी तथा विभिन्न क्षेत्रहरूमा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाइरहेको छ ।









