सरकारले स्वचालित मार्गमार्फत स्वीकृत हुने प्रत्यक्ष वैदेशिक लगानीको सीमा हटाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले विदेशी लगानीको माथिल्लो सीमा हटाएको हो ।
माघ ८ गतेको मन्त्रिपरिषद् बैठकले स्वचालित मार्गबाट स्वीकृत हुने विदेशी लगानीको अधिकतम् सीमा हटाउने निर्णय गरेको थियो । यसअघि कुल पुँजी ५० करोड रुपैयाँ सम्मको मात्रै विदेशी लगानी स्वचालित मार्गबाट स्वीकृत हुँदै आएकोमा अब यो सीमा हटेको हो ।
राजपत्रमा सूचना प्रकाशित भएपछि अब ५० करोडको सीमा हटेको हो । अर्थात्, स्वचालित मार्गबाट स्वीकृत हुने विदेशी लगानीको अधिकतम सीमा हुने छैन । तर, सबैभन्दा कम अर्थात् तल्लो सीमा भने २ करोड रुपैयाँ यथावत छ ।
कस्ता कस्ता उद्योग र व्यवसायमा लागू हुन्छ यो प्रावधान ?
राजपत्रमा प्रकाशित सूचना अनुसार कुल १०२ प्रकारका उद्यम व्यवसायमा सीमारहित विदेशी लगानी अटोमेकिट रुटबाट स्वीकृत हुनेछ । यस अन्तर्गत अब ऊर्जामूलक उद्योग ४, कृषि तथा वन पैदावार सम्बन्धि उद्योग १३, पूर्वाधार सम्बन्धि उद्योग ८, पर्यटन उद्योग ४, सूचना प्रविधिमा आधारित उद्योग ९, सेवामूलक उद्योग २३ र उत्पादनमूलक उद्योग ४१ वटामा जति पनि वैदेशिक लगानी भित्र्याउन पाइनेछ ।
तर, यीमध्ये सूचनामूलक उद्योग बाहेकमा तल्लो सीमा २ करोड भने कायमै रहेको छ ।
सूचना प्रविधिमूलक उद्योगमा न्यूनतम् सीमा पनि लागू नहुने
राजपत्रको द्रष्टव्यमा उल्लेख भए अनुसार सूचना प्रविधिमा आधारित उद्योगले विदेशी लगानी भित्र्याउँदा न्यूनतम् सीमा पनि लागू हुने छैन । अर्थात्, सूचना प्रविधिमा आधारित उद्योग विभिन्न ९ प्रकारका उद्योग व्यवसायले जति पनि वैदेशिक लगानी भित्र्याउन पाउने छन् ।
‘उल्लेखित सूचना प्रविधिमा आधारित उद्योगमा स्वचालित मार्गबाट विदेशी लगानीको स्वीकृति गर्दा लगानीको न्यूनतम् सीमा लागू हुने छैन’ राजपत्रमा भनिएको छ ।
राजपत्रको पूर्णपाठः












