तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (ह्यात रिजेन्सी, काठमाडौँ) मर्मतको काम सुरु भएको छ। गत भदौ २४ गतेको आन्दोलनका क्रममा होटेलमा आगलागी तथा तोडफोड भएको थियो ।
त्यसपछि होटलको पुनःसंरचना तथा मर्मत सम्भार गर्न लागिएको हो । पुनःसंरचना तथा मर्मत सम्भारको लागि होटेल पूर्ण रुपमा बन्द गरिएको छ। पुनःसंरचना तथा मर्मत सम्भारको लागि एक वर्ष लाग्ने बताईएको छ।
कम्पनीले होटेलका कोठाहरूमा बाँकी रहेका विभिन्न चल फर्निचर, इलेक्ट्रोनिक सामग्री तथा अन्य वस्तुहरू जे-जुन अवस्थामा छन् सो अवस्थामा बिक्री गर्ने निर्णय गरेको छ। प्रचलित कानुन बमोजिम योग्य र इच्छुक बोलपत्र दाताहरूलाई कार्तिक २७ गतेसम्म तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको बौद्धस्थित रजिस्टर्ड कार्यालयमा आफ्नो प्रस्ताव सिलबन्दीमा पेश गर्न कम्पनीले सार्वजनिक सुचना जारी गरेको छ।
यस प्रयोजनका लागि इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मिति पश्चात् कम्पनीको रजिस्टर्ड कार्यालयमा उपस्थित भई बिक्री सम्बन्धीका सामग्रीहरूको जानकारी प्राप्त गरी बोली फाराम लिई आफ्नो प्रस्ताव पेश गर्न कम्पनीले अनुरोध गरेको छ। साथै, प्रस्तुत खरिद प्रस्तावका सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार कम्पनीको रहने पनि कम्पनीले प्रष्ट पारेको छ।













