बागमती प्रदेश सरकारको उद्योग र वाणिज्य नीतिका सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले प्रदेश सरकारसँग छलफल गरेको छ । प्रदेश सरकारको उद्योग वाणिज्य तथा भूमी प्रशासन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले सहकार्य गरेको थियो ।
प्रदेश सरकारको उद्योग र वाणिज्य नीति कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा प्रदेश भरीका सबै जिल्लाबाट सहभागी भएका व्यवसायीहरुले धारणा राखेका थिए । बागमती प्रदेश सरकारकी उद्योग, वणिज्य तथा भूमी प्रशासनमन्त्री सुकुमाया तामाङको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा बागमती प्रदेश भरीका १३ वटा जिल्ला संघ र १७ बटा नगर संघ र वस्तुगत र एशोसियट संघबाट उद्यमी व्यवसायीहरु सहभागी भएका थिए ।
छलफलका क्रममा उद्योगी व्यवसायीहरुले प्रदेशको उत्पादन, रोजगारी, वस्तु मूल्य अभिवृद्धि गर्ने लगायतका कुरामा आवश्यक नीति तय गरेर प्रदेश सरकार अघि बढ्नुपर्ने धारणा राखेका छन् । आउँदो बजेटबाट यस छलफलको निष्कर्ष कार्यान्वयनमा लैजाने प्रदेश सरकारको भनाइ छ । २ दिने यस छलफलले त्यसका लागि आवश्यक सुझावसमेत दिने बताइएको छ ।
मन्त्रालयका सचिव हेमराज भुषालको सभापतित्वमा आयोजित कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठ सहभागी थिए ।













