नेपाली सिमेन्ट र प्लाइउडको ब्यूरो अफ इन्डियन स्ट्याण्डर्ड (बीआईएस) प्रमाणपत्र नवीकरण भएको छ । भारतीय सरकारको राष्ट्रिय स्ट्याण्डर्ड निकायले नेपाली सिमेन्ट र प्लाइउडको बीआईएस बुधबार नवीकरण गरेको हो ।
भारतले बीआईएस प्रमाणपत्र नवीकरण नगरिदिँदा नेपालबाट ५ महिनादेखि सिमेन्टको निकासी रोकिएको थियो । साथै, पछिल्लो एक महिनायता प्लाइउडको निर्यात पनि ठप्प भएको थियो । बीआईएस प्रमाणपत्र नवीकरण भएपनि अब नेपाली सिमेन्ट र प्लाइउडको भारतमा निकासी सहज हुने देखिएको छ ।
अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाका अनुसार भारतले बीआईएस नवीकरण गरेसँगै अब भारतीय बजारमा नेपाली सिमेन्टको निकासीको बाटो खुलेको छ । विगतमा राम्रो मूल्यको निकासी भइरहे पनि बीआईएस नवीकरण नहुँदा निकासी प्रभावित बनेको थियो । जसको असर मूलुकको ब्यापार घाटामा देखिएको थियो । अब भने सामान्य अवस्थाकै जस्तो निर्यात हुने बाटो खुलेको उद्योगी मुरारकाको भनाइ छ ।
नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले पनि प्लाइउडको पनि बीआईएस नवीकरण भएको जनाएका छन् । उनका अनुसार बीआईएस नवीकरण नहुँदा भारतीय बजारमा प्लाइउड पठाउन भइरहेको अवरोध बीआईएस नवीकरण भएसँगै हटेको छ ।
संघका अनुसार ३४ प्लाइउड उद्योगको बीआईएस नवीकरण बाँकी थियो । यसमध्ये बुधबारबाट क्रमश: नवीकरण सुरु भएको छ । एक महिनाभित्रै १५ उद्योगले बीआईएस पाउने छन् ।
नेपालका ८० उद्योगले प्लाइउड उत्पादन गर्दै आएका छन् । यसमध्ये ४५ उद्योगले भारततर्फ निर्यात गर्दै आएका छन् । एक वर्षमा भारतमा ७।५ अर्ब बराबरको प्लाइउड निर्यात हुँदै आएको थियो ।
नाकामा रोकिएका सामान अब निकासी हुनेछन्
भारतले १२ मार्च (२८ फागुन) देखि बीआईएस प्रमाणपत्र नवीकरण नभएको भन्दै पूर्ण रुपमा नेपाली सिमेन्ट, डण्डी र प्लाइउडको आयात रोकेको थियो । त्यसअघि नेपाली जुत्ताको पनि बीआईएस नवीकरण रोकिएकोमा जुत्ताको हकमा भने गत महिनाबाटै सहजीकरण भइसकेको थियो । अब सिमेन्ट र प्लाइउडको पनि बीआईएस नवीकरण हुन थालेको र यसअघि नाकामा रोकिएका सामान अब निकासी हुने बाटो खुलेको उद्योगीहरुले बताएका छन् ।
बीआईएस नवीकरण नभएको भन्दै नेपालबाट भारततर्फ लगिँदै गरेका सिमेन्ट लगायतका सामान नाकामै रोकिएका थिए । यस बीचमा नेपालबाट प्लाइउड लिएर भारततर्फ गएका ३४ वटा ट्रक सीमा नाकामै रोकिएका थिए । काँकडभिट्टा, भैरहवा, कृष्णनगर, नेपालगञ्ज र विराटनगर नाकाबाट प्लाइउड निर्यात रोकिएको थियो ।













