खाडीका देशमा श्रम गर्न गएका नेपालीहरु उतैबाट गैरकानुनी रुपमा युरोपका देशमा छिर्ने लहर बढ्न थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् । खासगरि, भिजिट भिसामा दुबई जानेहरु उतैबाट युरोपका देशमा जाने क्रम बढिरहेको र यसलाई रोक्न बारम्बार अनुरोध गर्दा पनि सरकारबाट सुनुवाई नभएको म्यानपावर व्यवसायीहरुको गुनासो छ ।
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलका अनुसार भिजिट भिसा, रि–इन्ट्री भिसा, आजाद भिसा (फ्रीडम भिसा) र फेमिली भिसा लिएर खाडीका देशमा जानेहरु उतैबाट युरोपका देशमा जाने क्रम बढिरहेको छ । जसले गर्दा युरोपेली देशहरुमा गैरकानुनी नेपालीहरु बढिरहँदा यसले मुलुककै छवीमा नकारात्मक असर पर्ने चिन्ता थपिएको छ ।
‘बिकृति बढ्यो, राष्ट्रकै छवी बिग्रने जोखिम छ’
महासचिव भुर्तेलका अनुसार संस्थागत रुपमा म्यानपावर कम्पनीबाट गएकाहरु यसरी सम्बन्धित देशबाट युरोप छिर्न सक्दैनन् । इजाजत प्राप्त कम्पनीबाट श्रम भिसा लगाएर गएकाहरुको न्यूनतम् २ वर्षको करार अवधि हुने र करार अवधिभर श्रमिकको हातमा पासपोर्ट पनि नहुने भएकाले उनीहरु अवैध तरिकाले युरोप छिर्न सक्ने सम्भावना अत्यन्त कम हुने उनको भनाइ छ ।
तर, भिजिट भिसामा दुबई गएकाहरु त्यहाँबाट युरोप छिर्ने क्रम बढिरहेको उनको भनाइ छ । यस्तै, कतार लगायतका खाडीका देशमा आजाद भिसाको नाममा पनि नेपालीहरु जान्छन् र यतैबाट युरोप छिर्छन् । कतिपय त कतारमै अलपत्र पनि पर्छन् ।
‘आजाद भिसाका नाममा गएकाहरुको कुनै करार अवधि हुँदैन, आजाद भनेको अरेबिक भासामा फ्रीडम हो’ महासचिव भुर्तेलले भने, ‘यस्तो भिसाका लागि म्यानपावर कम्पनीबाट प्रोसेस हुने पनि होइन । यस्तो भिसा लगाएर जानेहरु अवैध तरिकाबाट युरोप छिर्दा युरोपका देशहरुमा छ्याप्छ्याप्ती इलिगल नेपालीहरु हुने जोखिम बढेको छ । यसले राष्ट्रकै छवीमा आँच पुग्ने जोखिम देखिन्छ ।’
यस्तै, ‘फेमिली भिसा’का नामबाट दुबई पुग्नेहरु पनि उतैबाट युरोप छिर्ने क्रम बढिरहेको महासचिव भुर्तेलको भनाइ छ । उनका अनुसार भिजिट भिसा, फेमिली भिसा र आजाद भिसा लगाएर गएकाहरु पोल्याण्ड, पोर्चुगल, माल्टासहित कतिपय नाम नै नसुनिएका देशमा समेत जाने गरेका छन् ।
‘इजाजात प्राप्त कम्पनीबाट श्रम भिसा लगाएर गएकाहरु एकाध जना कम्पनी छोडेर, भागेर जाने गर्दछन्, यो भनेको निकै थोरै संख्या मात्रै हुन्छ’ उनी थप्छन्, ‘खाडीबाट युरोप छिर्ने ९९ प्रतिशत नेपालीहरु यहाँबाट भिजिट भिसा, फेमिली भिसा र आजाद भिसामा गएकाहरु हुन्छन् ।’
कसले लगाइदिन्छ भिजिट, फेमिली र आजाद भिसा ?
खाडीका देशबाट युरोप पुर्याइदिने भन्दै नेपालमा दलालीहरुले माटो रकम लिएर प्रक्रिया अघि बढाइदिने गरेको जानकारहरु बताउँछन् । जानकारहरुका अनुसार एजेन्टहरुले कागजपत्र तयार गर्नेदेखि सम्बन्धित देशको दूतावासबाट भिसा लगाउने सम्मको काम आफैँले गरिदिन्छन् । भिजिट, फेमिली र आजाद भिसामा जानेहरुलाई अन्तरवार्तामा के के बोल्ने भनेर पनि उनीहरुले नै सिकाउँछन् । यतिसम्म की, आजाद भिसा सरकारी प्रणालीले चिन्दैन । तर, दलालहरुले नेपालीलाई प्रलोभनमा पार्न यस्तो भिसाबाट खाडी गए उतैबाट युरोप छिर्न सकिन्छ भनेर बताउने गरेका छन् ।
‘अन्तरवार्तामा यो यो कुरा बोल्नु भनेर सिकाउँछन्, कतिपयलाई त बोल्न आउँदैन, केवल घुमेर फर्किने हो मात्रै भन्नु भनेर पनि सिकाउँदा रहेछन्’ एक जना जानकारले भने, ‘यताबाट दलालहरुले मिलाएर पठाएपछि त्यसपछिको जिम्मा उता (दुबइ लगायतका देश)का दलालले लिँदा रहेछन् ।’
खाडीका देश हुँदै युरोप जानेले प्रतिव्यक्ति ५ देखि १३ लाख रुपैयाँसम्म बुझाउने गरेको तर, यसको प्रमाण पैसा दिने र उसको परिवारसँग नहुने जानकारहरुको भनाइ छ । जसका कारण भविष्यमा समस्या आइपर्दा कानुनी उपचारका लागि कुनै पनि प्रमाण नहुने भएकाले यसले चौतर्फी जोखिम बढाएको अधिकारीहरु बताउँछन् ।
तर, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग जस्ता निकायहरु यसबारे बेखर जस्तै देखिएका छन् । मन्त्रालय र विभागल भिजिट, फेमिली र आजाद भिसाका नाममा भइरहेको एक खालको मानव तस्करीलाई रोक्न ठोस कदम नचालेको सरोकारवालाको आरोप छ ।













