ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नतिजा देखिने गरि काम गर्न निर्देशन दिएका छन् । अदालतको आदेशबाट प्राधिकरणको कार्यकारी निर्देशकमा पुनरागमन गरेर पदबहाली गरेपछि मन्त्री भेटन पुगेका शाक्यलाई घिसिङले नतिजा देखिने गरि काम गर्न निर्देशन दिँदै घमण्ड नदेखाउन चेतावनी नै दिएका हुन् ।
भेटमा शाक्यले विगतमा प्राधिकरणमा रहँदा घिसिङ र आफूबीच भएको सहकार्य स्मरण गर्दै भविष्यमा पनि मन्त्रालय र प्राधिकरणबीच सहकार्य गरेर नतिजा निकाल्न सकिने बताएका थिए । उनले आफू मन्त्री घिसिङको निर्देशन अनुसार काम गर्न तयार रहेको पनि बताए ।
त्यसपछि घिसिङले भने, ‘अदालतले पुनर्बहाली गर्न आदेश दियो, तपाई आउनु भयो । त्यसमा मेरो केही पनि कुरा छैन । तर, अदालतले फर्काएको हो भन्ने दम्भ देखाएर एक्लै चल्न नखोज्नु होला । म रिजल्ट चाहने मान्छे हुँ । रिजल्ट आउँछ भने म शत्रुलाई पनि जिम्मेवारी दिन तयार हुन्छु । तर, रिजल्ट आएन भने फेरि पनि सोच्नु पर्ने हुन सक्छ ।’












