तत्कालिन केपी ओली नेतृत्वको सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको केही महिनामै कुलमान घिसिङ ऊर्जासहित ३ मन्त्रालयको नेतृत्व गर्दै सिंहदरबार प्रवेश गरेका छन् । जेनजी समूहको आन्दोलन पश्चात ओली सरकार मात्रै ढलेन, संसद नै विघटन भयो । त्यसपछि भनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले घिसिङलाई ऊर्जासहित ३ मन्त्रालयको जिम्मेवारी दिइन् ।
मन्त्रीका रुपमा पदभार ग्रहण गर्दै उनले डेडिकेटेड र ट्रंक लाइनको विवादित विद्युत महशुल उठाउने भनेर पहिलो निर्णय गरेका छन् । विवादित विषयमा हात हालेर कार्यभार सुरु गरेका घिसिङले अब प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउने तयारी गरेका छन् । आफूलाई विस्थापित गरेर प्राधिकरणको कार्यकारी बनेका शाक्यलाई हटाउने स्पष्ट संकेत घिसिङले गरिसकेका छन् । शाक्यलाई उनले आन्दोलनको मर्म र जेनजी समूहको चाहना बुझेर मार्ग प्रशस्त गर्न घुमाउरो गरी निर्देशन नै दिएका छन् ।
कसलाई ल्याउन चाहन्छन् कुलमान ?
घिसिङ मन्त्रीमा नियुक्त हुँदा शाक्यले विदेशमा थिए । शुक्रबार मात्रै स्वदेश फर्किएका उनले यस अवधिमा मन्त्री घिसिङसँग भेट गर्न पाएका छैनन् । सम्भवतः आइतबार मन्त्रीलाई भेट्न शाक्य मन्त्रालय जाने तयारीमा छन् ।
तर, यता मन्त्री घिसिङले भने शाक्यलाई हटाएर नयाँ कार्यकारी निर्देशक ल्याउने गृहकार्य अघि बढाइसकेको स्रोतको भनाइ छ । शाक्यलाई हटाएर प्राधिकरणबाटै अवकाश प्राप्त मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाएर भित्र्याउने तयारीमा मन्त्री घिसिङ रहेको बताइन्छ ।
‘कुलमान सर एमडी हुँदा सिलवालले उहाँसँग बसेर काम गर्नु भएको हो, सिलवाल कुलमान सरका विश्वास पात्र पनि हुन्’ स्रोत भन्छ, ‘सायद हितेन्द्र देव शाक्यले आज मन्त्रीसँग भेटघाट गरेपछि आफैँले राजीनामा दिनु हुन्छ होला ।’
उता, सिलवाललाई पनि मन्त्री घिसिङले प्राधिकरणको कार्यकारी प्रमुख बन्न अनुरोध पठाइसकेका छन् । सिलवालले पनि ‘हुन्न’ नभनेको स्रोतले बताएको छ । ‘ट्युनिङ मिलाउने भनेर सिलवाललाई ल्याउन खोजिएको बुझेका छौँ’ प्राधिकरण स्रोतले पनि भन्यो ।









