नेपाल विद्युत प्राधिकरणले लामोसाँघु-काभ्रे/रामेछाप १३२ केभी प्रसारणलाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले प्रसारणलाइन निर्माणको लागि निर्माण अनुमति माग गर्दै विद्युत विकास विभागमा आवेदन दिएको छ। सो प्रसारणलाइन निर्माण तथा संचालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा ३५ दिन भित्र राय प्रतिक्रिया दिन विभागले आग्रह गरेको छ।
यस प्रसारण लाईनको भोल्टेज १,३२,००० भोल्ट, डबल सर्किट रहने र २३८ मेगावाट सम्मको विद्युत शक्ति प्रसारण गर्न सकिनेछ । यस प्रसारण लाईन आयोजना, बागमती प्रदेश अन्तर्गतको सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाको वडा नं. ७ मा प्रस्तावित लामोसाँघु सवस्टेसन देखि सुनकोशी गाउँपालिका, लिसंखु पाखर गाउँपालिका, काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिका, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका, सुनापती गाउँपालिका हुँदै खाँडादेवी गाउँपालिकाको वडा नं. १ मा प्रस्तावित राकाथुम सवस्टेसन सम्म जम्मा ३८.२६७ कि.मी., १३२ कि.भी. प्रसारण लाइन निर्माण गर्न तथा यस आयोजना अन्तर्गत प्रस्तावित लामोसाँघु सवस्टेसनमा २ वटा Line Bay Extension र प्रस्तावित राकाथुम १३२ / ३३ के.भी., ६०(३०x२) एम. भी. ए., ३३/११ के.भी., १६(८x२) एम. भी. ए. को सवस्टेसन समेत निर्माण गरिनेछ ।
यो प्रसारण लाईनको लम्बाई ३८.२६७ कि.मी. हुनेछ जसमा १२९ वटा टावरहरु निर्माण गरिने छन् तथा ACSR ‘BEAR Conductor’ जडान गरिने छ । टावरको अधिकतम उचाई ४० मी. सम्म रहने तथा टावरहरु बिचको औषत दुरी २९८.९७ मी. हुनेछ। आयोजना निर्माणको लागि कूल ४०.०८ हेक्टर जमिन आवश्यक पर्ने छ, जस मध्य १२९ वटा टावरहरुका लागि स्थायी रूपमा ४.५८५ हेक्टर जग्गा आवश्यक पर्दछ । यस बाहेक विद्युत मार्गको अधिकार क्षेत्र भित्र (Right of Way) अन्तर्गत २७.८७ हेक्टर जग्गा आयोजनालाई आवश्यक पर्नेछ ।
यो प्रसारण लाईनको क्षेत्राधिकार (RoW) विद्युत नियमावली, २०५० मा तोकिए बमोजिम न्यूनतम दुरीमा नघटाई प्राविधिक दृष्टिकोण बाट १८ मी. (मध्य विन्दुबाट ९/९ मी. दायाँ बायाँ) कायम गरिने छ। यो प्रसारण लाईनको निर्माण कार्य करिव २ वर्ष भित्र सम्पन्न गरिने लक्ष्य रहेको छ ।
यो प्रसारण लाईन निर्माण तथा सञ्चालन गर्दा विद्युत ऐन, २०४९ को दफा २४ बमोजिम भु-क्षय, बाढी, वायु प्रदुषण आदि द्वारा वतावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी निर्माण गरिने प्राधिकरणले जनाएको छ ।









