विद्युत आपुर्तिमा समस्या हुँदा उद्योगहरुले खेपिरहेको अघोषित लोडसेडिङ एकाएक हटेको छ । खासगरी, मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुमा गत बुधबारसम्म दैनिक १२ घण्टासम्म भइरहेको लोडसेडिङ बिहिबारबाट हटेको हो ।
बिहीबारदेखि वीरगञ्ज–पथलैया र सुनसरी–मोरङ करिडोरका उद्योगहरुमा लोडसेडिङ हुन छाडेको उद्योगीहरुले बताएका छन् । अहिले विद्युत कटौतीको समस्या नरहेको बताएपनि उद्योगीहरुले यो समस्याको दीर्घकालिन समाधान हो वा होइन भन्नेमा भने आशंका व्यक्त गरेका छन् । उनीहरुले उद्योगहरुमा अघोषित रुपमा हुने लोडसेडिङ समस्याको दीर्घकालिन समाधान आवश्यक रहेको पनि बताएका छन् ।
मार्च १५ अर्थात् चैत २ गतेबाट भारतले रातीको पीक आवरमा बिजुली दिन बन्द गरेर सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) मात्रै ६५४ मेगावाट विद्युत दिन सुरु गरेपछि नेपाल विद्युत प्राधिकरणलाई आन्तरिक विद्युत माग व्यवस्थापन गर्न चुनौति थपिएको थियो । त्यसमाथि पछिल्लो समय २०८१ माघ २० गते (१२ फेब्रुअरी, २०२५) प्राधिकरण र भारतको केन्द्रीय विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धि भएको समझदारी कार्यान्वयन नहुँदा अर्को चिन्ता पनि थपिएको थियो ।
तर, भारतले राती ११ बजेदेखि बिहान ४ बजेसम्म थप विद्युत दिन सहमति जनाएर विद्युत दिनै सुरु गरेपछि सम्भावित लोडसेडिङ टरेको छ । साथै, उद्योगीहरुले पनि १२ घण्टासम्म ब्यहोर्दै आएको लोडसेडिङबाट पनि मुक्ति पाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतका अनुसार गत बिहीबारबाट प्राधिकरणले उद्योगमा नियमित विद्युत दिइरहेको छ । यद्यपी, अहिले अल्पकालिन मात्रै समस्या समाधान भएको हो कि दीर्घकालिन रुपमै समस्या सुल्झिएको हो भन्ने बारे भने प्राधिकरणले कुनै जानकारी नगराएको उनको भनाइ छ ।
‘उद्योगहरुले नियमित विद्युत पाउनुपर्छ, उद्योगमा भइरहेको लोडसेडिङ दीर्घकालिन रुपमै हटाइनुपर्छ’ उनले भने ।
मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष नवीन रिजालले पनि बिहिबार रातीदेखि उद्योगहरुले नियमित विद्युत प्राप्त गरिरहेको बताएका छन् । उनका अनुसार यसअघि ३ वर्षसम्म निरन्तर लोडसेडिङ खेपेका उद्योगहरुले बिहिबार रातीबाट नियमित विद्युत पाउन थालेका हुन् ।
‘उद्योगहरुले लोडसेडिङ भोगिरहेका थिए, ३ वर्षदेखि दैनिक १२ घण्टासम्म लोडसेडिङ थियो’ रिजालले भने, ‘तर, अहिले क्रमश: सुधार भए जस्तो देखिएको छ । अहिले विद्युत् निरन्तर आइरहेको छ, अब यसले निरन्तरता पाउनुपर्यो ।’
भारतबाट आयात बढाइयो
विद्युत प्राधिकरणले भारतबाट सोलार आवरमा मात्रै हुँदै आएको विद्युत आयातलाई पीक आवरमा पनि गर्न थालेको छ । भारतले आन्तरिक माग अपुग हुने भन्दै पीक आवरमा बिजुली दिन मानिरहेको थिएन । तर, कुटनीतिक पहलमार्फत नेपाल पक्षले राती ११ बजेदेखि बिहान ४ बजेम्म थप विद्युत निर्यातका लागि भारतलाई मनाएका थिए ।
विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यका अनुसार बिहिबारबाटै थप विद्युत आयात हुन थालिसकेको छ । जसका कारण उद्योगमा भइरहेको दैनिक १२ घण्टा सम्मको लोडसेडिङ हटेको उनको दाबी छ ।









