Saturday, April 11, 2026
spot_img
spot_img

पाईलटलाई जागिर पाउनै मुस्किल, लाईसेन्स पाएका मध्ये आधा बेरोजगार

spot_img
spot_img

एउटा निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनीले पाईलट माग गरेर सूचना निकाल्दा शक्ति केन्द्रको फोनको चाप थेग्न नसकेर उक्त सूचना नै रद्द गर्नुपरेको बारे अहिले पनि सिभिल एभिएशनको क्षेत्रमा चर्चा हुने गरेको छ । यस्तै, नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का उच्च तहका अधिकारीहरुको कार्यकक्षमा टेबलका घर्रा पनि पाईलट पढेका व्यक्तिहरुको बायो डाटाले भरिएका छन् ।

बुद्ध एयरका एकजना उच्च अधिकारी आफूले सधैँ रासन किन्ने किराना पसलमा एकदिन खाने तेल किन्न गएका थिए । पसलवाला व्यक्तिले आफ्नो छोरा पाईलट पढेर आएको तर काम नपाएको गुनासो पोखिहाले । ‘उहाँले छोराको सीभी लिएर जान अनुरोध गर्नुभयो । म अहिले हतारमा छु, कुनैदिन लिन्छु भनेर निस्किएँ । श्रीमती सामान किन्न गएका बेला उहाँले आफ्नो छोराको सीभी पठाईदिनु भएछ’ बुद्धका ती अधिकारीले बिजनेशपानासँग भने ।

यी तथ्यले नेपालमा पाईलट कोर्स पढेको जनशक्तिको संख्या बढिरहेपनि तिनले काम नपाईरहेको वास्तविकता उजागर गर्छ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार वर्षेनि पाईलट पढ्नेको संख्या बढिरहेपनि ‘सप्लाई’ कम हुँदा पाईलट बेरोजगारीको तथ्याङ्क बढ्दो छ ।

पढेकामध्ये आधा बेरोजगार

क्यानका अनुसार पाईलटका दुईथरी लाईसेन्स हुन्छन् । एउटा पीपीएल अर्थात् प्राइभेट पाईलट लाईसेन्स । नेपालमा यसको अभ्यास छैन । अर्को, सीपीएल अर्थात् कमर्सियल पाईलट लाईसेन्स ।

व्यक्तिले क्यानले तोकेका अर्थात् क्यानबाट ‘एप्रुभ ट्रेनिङ अर्गनाईजेशन’ (एटीओ) अनुमति पाएका ‘फ्लाईङ स्कुल’बाट पाईलट पढेर आएपछि क्यानमा ‘सीपीएल एक्जाम’ दिनुपर्छ । १०० पूर्णाङ्कको यो परीक्षामा उत्तीर्ण हुन ७० अङ्क ल्याउनुपर्छ । यो परीक्षा पास भएपछि क्यानले ‘सीपीएल लेटर’ (एक खालको सर्टिफिकेट) दिन्छ । सीपीएल लेटर लिएपछि बल्ल पाईलट पढेर आएको व्यक्ति एयरलाईन्समा काम गर्न (सुरुमा ट्रेनी को–पाईलटको रुपमा काम गर्नुपर्छ) योग्य हुन्छ ।

सात सय जनाभन्दा बढीले सीपीएल लेटर पाएपनि यीमध्ये ३ सयभन्दा बढी पाईलटहरु बेरोजगार रहेको क्यानको भनाई छ ।

हालसम्म क्यानले ७२३ जनालाई सीपीएल लेटर (एरोप्लेनतर्फ) दिएको छ । यसमध्ये ६५५ जना पुरुष छन् भने ६८ जना महिला छन् । यीमध्ये ४८२ जना (४५१ पुरुष र ३१ महिला) क्याप्टेन अर्थात् ‘एयर ट्रान्सपोर्ट पाईलट लाईसेन्स (एटीपीएल) होल्डर’ छन् ।

सात सय जनाभन्दा बढीले सीपीएल लेटर पाएपनि यीमध्ये ३ सयभन्दा बढी पाईलटहरु बेरोजगार रहेको क्यानको भनाई छ । ‘एरोप्लेनतर्फ पाईलटको बेरोजगार दर धेरै छ । ३ सयभन्दा बढी पाईलटहरु अहिले पनि काम नपाएर बसिरहनु भएको छ’ क्यानका सूचना अधिकारी भुलले भने, ‘हेलिकप्टरमा चाहिँ बेरोजगारीको समस्या त्यति धेरै छैन ।’ क्यानका अनुसार हेलिकप्टरतर्फ १०२ जना पाईलटले सीपीएल लेटर पाएका छन् । यीमध्ये ९८ पुरुष र ४ जना महिला छन् ।

अहिले बुद्ध एयर सबैभन्दा धेरै पाईलटलाई रोजगारी दिने कम्पनीमा पर्छ । बुद्धसँग १२९ जना पाईलट (को–पाईलटसहित) छन् । यसपछि यती, श्रीएयरलाईन्स जस्ता कम्पनीहरु अगाडि छन् । हेलिकप्टरतर्फ सिम्रिक एयरलाईन्स अगाडि छ ।

५ वर्षसम्म काम नपाए फेरि पढ्नुपर्ने प्रावधान

क्यानबाट एटीओ अनुमति पाएका फ्लाईङ स्कुलबाट पढेर आएपछि क्यानले लिने सीपीएल परीक्षा उत्तीर्ण गरेमात्रै एयरलाईन्समा काम गर्न पाइन्छ । तर, क्यानले दिने सीपीएल उत्तीर्ण गरेको लेटर (सर्टिफिकेट)को अवधि ५ वर्षको हुन्छ । यदि, सीपीएल लाईसेन्स पाएको ५ वर्षसम्म कुनै एयरलाईन्समा काम पाएन वा गरेन भने त्यो व्यक्ति फेरि पढ्न जानुपर्छ ।
‘सीपीएल लाईसेन्स पाएको ५ वर्षसम्म काम नगरेमा फेरि पढ्न जानुपर्छ’ भुलले भने, ‘आफूले पहिला पढेकै फ्लाईङ स्कुलमा गएर रिफ्रेशर कोर्स पूरा गरेर आउनुपर्छ ।’

पाईलट पढ्न कसरी जान पाइन्छ ?

नेपालबाट पाईलट पढ्नका लागि अमेरिका, फिलिपिन्स र साउथ अफ्रिकाका ‘फ्लाईङ स्कुल’मा मात्रै जान पाइन्छ । क्यानले सम्बन्धित ‘फ्लाईङ स्कुल’को ट्रेनिङ प्रोग्राम हेरेर ‘एप्रुभ ट्रेनिङ अर्गनाईजेशन’ (एटीओ) अनुमति दिन थालेको हो ।
‘ग्राउण्डमा कसरी सिकाउँछ, आकाशमा कसरी सिकाउँछ भन्ने सबै ट्रेनिङ प्रोग्राम हेरेर क्यानले एटीओ अनुमति दिएको हुन्छ’ क्यानका सूचना अधिकारी भुलले भने, ‘पढ्न जानका लागि एनओसी दिनुभन्दा अघि क्यानले व्यक्तिको कम्पास टेस्ट पनि लिन्छ । फिजिक्स, म्याथ र अङ्ग्रेजीको टेस्ट हुन्छ । यी टेस्ट पास गरेपछि पाईलट पढ्न जान पाइन्छ ।’

कुन वर्ष कतिले पाए पढ्ने अनुमति ?

पाईलट पढ्न जानका लागि क्यानबाट ‘नो अब्जेक्शन लेटर’ (एनओसी) लिनुपर्छ । सन् २०२० देखि यतामात्रै हालसम्म ५५३ जनाले एनओसी लिईसकेका छन् ।

सन् २०२० मा ३१ जना, २०२१ मा १४९ जना र २०२२ मा १६६ जनाले एनओसी लिएको क्यानको तथ्याङ्क छ । २०२३ मा ८३ जना, २०२४ मा १०६ जना, २०२५ मा १६ जना र २०२६ को जनवरी १३ सम्म २ जनाले एनओसी लिएका छन् । क्यानबाट एनओसी लिएर गएपछि करिब डेढ वर्षमा विद्यार्थीहरु कोर्स पूरा गरेर फर्किन्छन् ।

‘एनओसी रोक्न सकेनौँ’

जनशक्ति थपिने तर उसले काम नपाउने अवस्था बढ्न थालेपछि क्यानले ‘एनओसी नै दिन रोक्ने कि !’ भनेर छलफल पनि चलाएको थियो । व्यक्तिले पढ्न जान्छु भन्दा उसलाई रोक्ने कुरा गर्दा उसको अधिकार हनन् हुन्छ भनेर रोक्न नसकिएको क्यानका सूचना अधिकारी भुल बताउँछन् ।

‘हामीले अब एनओसी दिन रोक्नुपर्छ कि भनेर छलफल चलाएका पनि थियौँ । तर, पढ्न पाउने कुरा व्यक्तिको नैसर्गिक अधिकारको कुरा हो’ उनले भने, ‘व्यक्तिको अधिकार हनन् गर्ने त कुरा भएन ।’

किन बढ्यो पाईलटको बेरोजगारी ?

पाईलट, ईन्जिनियर र डाक्टर हाम्रो समाजमा ख्याति धेरै भएका पेशा हुन् । पढ्नका लागि ठूलो लगानी चाहिने र पढेपछि आम्दानी तथा प्रतिष्ठा उच्च हुने ठानेर अभिभावकहरु आफ्ना सन्तानलाई उल्लेखित क्षेत्रमा प्रवेश गराउन चाहन्छन् । यस्तो प्रतिष्ठित जनशक्ति नै बेरोजगार भएर बस्नु परेको भयावह अवस्थाले नागरिक उड्ययन क्षेत्र चिन्तित देखिएको छ ।

काठमाडौँको आकाश कचौरा आकारको छ । यसकारण क्यानले एयरलाईन्सहरुले माग गरे अनुसारको उडान अनुमति दिन पनि सकिरहेको छैन ।

यसमा मुख्यगरी ३ वटा प्रमुख कारण रहेको क्यानको बुझाई छ । पहिलोः ‘बजार अध्ययनको अभाव ।’ दोस्रोः नेपालका एयरलाईन्सहरुको क्षमता । तेस्रोः ‘एयर स्पेश क्यापासिटी ।’

‘अहिले पाईलटहरु के कति छन् ? पाईलटको माग के कस्तो छ ? पढेर आएपछि मैले काम पाउँछु कि पाउँदिन ? भविष्यमा काम पाउन सक्ने सम्भावना छ कि छैन ? जस्ता विषयहरुको अध्ययन नगरी व्यक्तिले पाईलट पढ्ने निर्णय गर्दा पनि पढाई पूरा गरेर आएपछि बेरोजगार हुनुपरेको छ’ भुलले भने ।

दोस्रो कुरा, नेपालका एयरलाईन्स कम्पनीहरुको क्षमता पनि जनशक्ति उत्पादनको सापेक्षतामा विकास हुन नसकेको उनको भनाई छ । ‘टीआईए (त्रिभुवन एयरपोर्ट)कै तथ्याङ्क हेर्दा डोमेस्टिक ट्राफिक वार्षिक ४५ लाख जना छ । यो भनेको दैनिक १० हजार हाराहारी हो । दशैँ तिहारमा अलिकति बढ्दा एक महिनाचाहिँ दैनिक २० हजार पुग्ने हो’ भुल भन्छन्, ‘दुर्गममा उडान घटेको घट्यै छ । मार्केट पनि छैन । एयरलाईन्सले एउटा जहाज थप्दा ५ जना पाईलटको माग बढ्छ । तर, जहाज थपिएका छैनन् ।’

तेस्रोः एयर स्पेशको समस्याले पनि एयरलाईन्स कम्पनीहरुलाई उनीहरुले मागेजति उडान दिन नसकिएको क्यानले स्वीकार गरेको छ । ‘हामीसँग ५५ वटा डोमेस्टिक एयरपोर्ट भएपनि धेरै यात्रु हुने काठमाडौँमै हो । तर, काठमाडौँको आकाश कचौरा आकारको छ । यसकारण हाम्रो एयर स्पेश क्यापासिटीको कारणले पनि एयरलाईन्सहरुले माग गरे अनुसारको उडान अनुमति दिन सकिएको छैन’ भुलले भने, ‘कतिपय डोमेस्टिक एयरपोर्टमा रन–वेको अवस्थाले पनि ठूला क्षमताका जहाजहरुलाई उडानको स्वीकृति दिन नसकिएको अवस्था छ ।’

समाधान के ?

पाईलटहरु बेरोजगार बस्दा एक त क्षमताको उपयोग हुन सकिरहेको छैन भने अर्कोतर्फ उनीहरुले पढ्दा गरेको लगानी नोक्सान हुने अवस्था सिर्जना भएको छ । यो समस्या समाधान गर्न क्यानले विभिन्न नियमहरु ल्याएको पनि छ ।

सीपीएल जाँचमा परीक्षार्थीले पाएको अङ्कका आधारमा मर्यादाक्रम निर्धारण गर्ने र कम्पनीहरुले पाईलट माग गर्दा सोही अनुसार भर्ना गर्ने प्रणालीको विकास गर्नुपर्ने आवश्यकता देखिएको छ ।

‘हामीले पाईलटको ड्युटी आवर तोकेका छौँ, एउटा पाईलट र को–पाईलटले एक दिनमा १० घण्टाभन्दा बढी उडान गर्न पाउँदैन । महिनामा ३ सय घण्टाभन्दा बढी उडान गर्न पाउँदैन’ सूचना अधिकारी भुल भन्छन्, ‘एकजना पाईलट र को–पाईलटले एकदिनमा १० वटामात्रै टेकअफ र ल्याण्ड (५ वटा उडान) गराउन पाउँछ । यी नियमहरु उडान सुरक्षाको लागि त हुँदै हुन् । सँगसँगै पाईलटको डिमाण्ड बढाउन पनि मद्दत पुगोस् भन्ने चाहना हो ।’

यसका साथै, एयरलाईन्स कम्पनीहरुले पहुँचका आधारमा नभई सीपीएल लेटरका आधारमा पाईलटहरु भर्ना गर्नुपर्ने क्यानको सुझाव छ । सीपीएल जाँचमा परीक्षार्थीले पाएको अङ्कका आधारमा मर्यादाक्रम निर्धारण गर्ने र कम्पनीहरुले पाईलट माग गर्दा सोही अनुसार भर्ना गर्ने प्रणालीको विकास गर्नुपर्ने आवश्यकता देखिएको छ । र, अब यसतर्फ क्यानले गृहकार्य गर्ने सूचना अधिकारी भुल बताउँछन् ।

‘अहिले काम नपाउने, काम पाइँदो रहेनछ भनेर पढ्ने मान्छेहरु भएनन् र पढेकाहरु पनि पलायन भए वा अरु क्षेत्रमा लागे भने भविष्यमा एभिएशन सेक्टर विकास हुँदै जाँदा जनशक्ति नै नपाइने होकि भन्ने डर पनि छ’ उनले भने, ‘अर्कोतर्फ, पहुँच नभएको व्यक्तिले काम नपाउने र रोजगारीमा रहेका पाईलटले जागिर नछोडेसम्म नयाँले अवसर नै नपाउने समस्या छ । यो समस्या समाधानका लागि पाईलट कोर्स पढेर आएको व्यक्तिले सीपीएल जाँचमा पाएको अङ्कका आधारमा क्यानले मर्यादाक्रम तोक्ने र एयरलाईन्स कम्पनीहरुले पाईलट माग गर्दा त्यस अनुसार भर्ना गर्ने प्रणालीको विकास गर्नुपर्ने आवश्यकता देखिएको छ । यसका लागि वायुसेवा कम्पनीहरुसँग थप छलफल गर्न हामी तयार छौँ ।’

सरकारले कम्पनीहरुलाई जहाज थप्न प्रेरित गर्नुपर्ने पनि उनको भनाई छ । ‘क्यानले पनि यसमा पहल गर्नुपर्छ । साथै, नेपाल एयरलाईन्स र अन्य प्राइभेट एयरलाईन्स कम्पनीहरुले पनि पहल गर्नुपर्छ । अब एयरपोर्ट थप्नतिर होईन कि जहाज थप्नतिर लाग्नुपर्छ’ भुलले भने ।

(बिजनेशपाना म्यागेजिनको पछिल्लो अंकबाट साभार)

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यी हुन् लेखा समितिका २६ सांसद, वर्षमान पुनदेखि खुश्वु ओलीसम्म

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् ।...

प्रतिनिधिसभामा अर्थ समिति गठन, यी हुन् २६ सदस्य

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् ।...

२२९ भोट सहित २५ वर्षिया रुवीकुमारी उपसभामुख निर्वाचित

प्रतिनिधिसभाको उपभामुख पदका रुवीकुमारी ठाकुर निर्वाचित भएकी छिन् ।...

ऋणपत्र निष्काशनको अनुमति माग्दै प्राइम कमर्शियल बैंकले दियो आवेदन

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल...

नागरिक एपमा एक हप्ताभित्रै यी ३ सेवा थपिँदै

सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष...

अब घरबाटै पेन्सन पाउन सकिने, बैंक जानु पर्ने बाध्यता हट्यो

सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूको निवृत्तभरण व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यलाई...
spot_img