चालु आर्थिक वर्षको २ महिना (साउन र भदौ)मा विद्युतीय गाडी (कार)को आयात भारी मात्रामा घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन र भदौमा जम्मा ४८६ युनिट ईभी कार आयात भएका छन् ।
यसमध्ये ५० किलोवाट सम्मका ईभीको संख्या जम्मा ७३ छ । जसमा भारतबाट ६३ र चीनबाट १० युनिट आयात भएका छन् ।
यस्तै, यो दुइ महिनामा ५१ देखि १०० किलोवाट सम्मका ईभी जम्मा ३७८ युनिट आयात भएका छन् । जसमध्ये चीनबाट २०२, भारतबाट १४२ र थाइल्याण्डबाट ३४ युनिट आएका छन् ।
१०१ देखि २०० किलोवाट सम्मका ३४ युनिट ईभी मात्रै आएका छन् । यसमा चीनबाट २८, भारतबाट २, कोरियाबाट २ र अमेरिकाबाट आयात भएका २ युनिट रहेका छन् ।
३०० किलोवाट सम्मको जम्मा एक युनिट ईभी अमेरिकाबाट आयात भएको छ ।
गत आर्थिक वर्ष २०८१÷८२ को साउन र भदौमा भने १ हजार ६०२ युनिट ईभी नेपाल भित्रिएका थिए । यसपाली आर्थिक वर्षको सुरुवातमै रसुवागढी नाका बाढीका कारण अवरुद्ध हुँदा आयातमा असर परेको व्यवसायीहरुले बताउँदै आएका छन् ।













