गाडी तथा मोटरसाइकलमा पनि ब्याट्री हुन्छ भन्ने धेरैलाई थाहा भएको कुरा हो । तर, त्यस्तो ब्याट्री नेपालमै बन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । किनकी, धेरैजसो अटो पार्टस् आयात हुने गरेका कारण ‘प्राविधिक वस्तु ब्याट्री नै कसरी उत्पादन हुन सक्ला ?’ भन्ने धेरैको जिज्ञासा हुन सक्छ । तर, हेटौँडास्थित औद्योगिक क्षेत्रभित्र अवस्थित ‘एसटीसी इनर्जी’ले दुइ पाङ्ग्रे र चार पाङ्ग्रे सवारीका ब्याट्रीसहित इन्भर्टर ब्याट्री पनि उत्पादन गरिरहेको छ ।
नेपाली बजारमा टाटा, एक्साइड, लुमिनेन्स जस्ता विदेशी ब्राण्डका ब्याट्रीको दबदबा छ भन्दा फरक नपर्ला । तर, पछिल्लो एक वर्षको बजार हेर्ने हो भने ‘एसटीसी’ले आफ्नो उपस्थिति मजबुत बनाउँदै लगेको छ ।
५० करोड बढीको लगानी, ७५ जना प्रत्यक्ष रोजगार
सुरेन्द्र कुमार उप्रेती (सुरेश) सहितको टिमले एसटीसी ग्रुपमार्फत हेटौँडा औद्योगिक क्षेत्रभित्र २१ रोपनी जग्गा भाडामा लिएर ब्याट्रीको उत्पादन सुरु गरेको हो । सुरु सुरुमा निकै सास्ती खेपेर पनि उद्योगले केही वर्ष गुजार्यो । प्राविधिक रुपमा दक्ष जनशक्ति स्वदेशभित्र नहुँदा जनशक्ति खोज्न कम्पनीका प्रतिनिधिहरु दिल्ली र बेइजिङसमेत धाउनुपर्यो ।
तर, पछिल्लो समय करिब ३ दशक लामो अनुभव भएका दक्ष प्राविधिक मात्रै होइन, प्राविधिक प्रशिक्षक समेत रहेका सुन्दर मुर्ति एसटीसी इनर्जीमा जोडिए । यसपछि गुणस्तर कायम गर्ने मामिलामा थप सफलता प्राप्त भएको सुरेन्द्र कुमार उप्रेतीको भनाइ छ । उनका अनुसार भारत, चीन र जापानबाट आधुनिक र विश्वस्तरीय मेशिन ल्याइएको छ ।
‘सुरुमा हामीसँग दक्ष जनशक्ति नहुँदा निकै सास्ती खेप्नुपर्यो, एक हिसाबले भन्ने हो भने धेरै कुरा गुमाएर उद्योग यो चरणमा आएको छ’ उप्रेती भन्छन्, ‘अहिलेसम्म ५० करोडमाथि लगानी भइसकेको छ ।’
उद्योगमा अहिले ७५ जना दैनिक काम गर्ने कर्मचारी छन् । १४ जना त इन्जिनियर मात्रै छन् । अहिले केही प्राविधिक कर्मचारी छिमेकी देशबाट ल्याइएको छ । उनीहरुले नेपाली युवाहरुलाई सँगसँगै तालिम समेत प्रदान गरिरहेका छन् ।
‘सुन्दर मुर्तिको टिमले अहिले यहाँ नेपाली युवालाई ट्रेनिङ पनि गराइरहेका छन्, स्वदेशमै दक्ष जनशक्ति भएन भने तिमीहरुको उत्पादकत्व बढ्दैन भनेर मुर्ति जी आफैँले निकै मेहनतका साथ सिकाइरहनु भएको छ’ सुरेन्द्र भन्छन्, ‘एकाध वर्षमा सबै प्राविधिक जनशक्ति स्वदेशमै तयार हुन्छ ।’
उनका अनुसार साउन तिर अझै १५ जना जति जनशक्ति थप गरिनेछ । दशैँ तिहारका समयमा ब्याट्रीको माग धेरै आउने हुनाले उत्पादन बढाउन जनशक्ति पनि थप गरिनेछ ।
वार्षिक १८ लाख ब्याट्री उत्पादन क्षमता, क्वालिटीमा ‘नो कम्प्रोमाइज’
आधुनिक टेक्नोलोजी र मेशिन जडान गरिएको उद्योगले ‘लिड एसिड ब्याट्री’ उत्पादन गर्छ । उद्योगी उप्रेतीका अनुसार उद्योगले वार्षिक १८ लाख युनिट ब्याट्री उत्पादन गर्ने क्षमता राख्छ ।
हरेक स्टेपमा ‘क्वालिटी कन्ट्रोल प्यारामिटर’ जडान गरिएको छ । यदि ब्याट्री प्राविधिक रुपमा ठिक छैन भने मेशिनले नै साइड लगाइदिन्छ । मेशिनले ठिक भनेर ठहर्याएको ब्याट्रीलाई फेरि मान्छेको हातबाट समेत उपकरणको सहायताले चेकजाँच गरिन्छ । यसरी ठिक छ भन्ने प्रमाणित भएपछि साइज अनुसार ७२ घण्टादेखि १२० घण्टासम्म चार्ज गरिन्छ ।
यसरी चार्ज गरिएपछि मेशिनमा हालेर ‘वास’ र ‘ड्राइ’ गरिन्छ । त्यसपछि अझै केही घण्टा राखेर बल्ल प्याकिङ गरिन्छ ।
८० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग, मासिक १० लाखको विद्युत खपत
बाइक, स्कुटर, गाडी, इ–रिक्सा, इन्भर्टर सबैमा प्रयोग हुने ब्याट्री बनाइरहेको उद्योगले आफ्ना उत्पादनमा ८० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गर्दै आएको छ । ब्याट्री प्याक कन्टेनर, एसिड, प्लस र माइनस आपसमा नजोडिने गरी प्याक गर्ने सामान बाहेक अधिकांश कच्चा पदार्थ स्वदेशकै उपयोग गर्ने गरिएको एसटीसी इनर्जीका प्रबन्ध निर्देशक उप्रेती बताउँछन् ।
उनका अनुसार एसिड आयात गर्न केही प्राविधिक कठिनाइ छन् । गृह मन्त्रालयको सिफारिस लिएर मात्रै एसिड आयात गर्न पाइन्छ, यसका लागि पनि भन्सार विभाग, उद्योग विभाग जस्ता निकायहरु जोडिन्छन् । अन्तर निकाय समन्वय नहुँदा केही समय अगाडी २५ दिनसम्म उद्योग नै बन्द गर्नुपरेको तीतो यथार्थसमेत उप्रेतीले सुनाए ।

‘हामीले सुरुमै यो आर्थिक वर्षमा हामीलाई यति जति एसिड चाहिन्छ भनेर अनुमानित विवरण पठाउँछौँ, त्यसमा २० प्रतिशत ३० प्रतिशत थपिन सक्छ पनि भनेका हुन्छौँ, अनुमति पाएर आयात भएको एसिड प्रयोग भइसकेपछि थप आयातका लागि निकै गाह्रो छ’ उप्रेती भन्छन्, ‘भन्सार विभाग, उद्योग विभाग, गृह मन्त्रालय धाउँदाधाउँदै केही समय अगाडी २५ दिन जति उद्योग नै बन्द भयो । सीडीओ कार्यालय लगायतबाट पनि मान्छे आएर हेर्नुहुन्छ, तर प्राविधिक मान्छे आइदिनु हुन्न । यसमा चाहिँ सरकारबाट सहजीकरण आवश्यक नै छ ।’
साथै, उद्योगले उच्च मात्रामा विद्युत खपत गर्दै आएको छ । उद्योगले मासिक ८ देखि १० लाखको बिजुली खपत गरिरहेको छ । ‘हामीले विद्युत महशुल मात्रै मासिक १० लाखसम्म बुझाइरहेका छौँ, कम हुँदा पनि ८ लाखबाट तल घट्दैन’ उप्रेतीले थपे ।
दुइ ब्राण्ड, एमआरपी एउटै, वारेन्टी/ग्यारेन्टी के छ ?
उद्योगले अहिले २ वटा ब्राण्डमा ब्याट्री बजारमा पठाइरहेको छ । ‘एसटीसी राइड’ र ‘एसटीसी इनर्जी’ । एउटा रातो र अर्को हरियो प्याकमा उपलब्ध छ । मूल्यमा भने फरक छैन ।
कम्पनीका अनुसार अहिले एसटीसी राइड ब्याट्रीको माग तुलनात्मक रुपमा बढी छ । एसटीसी इनर्जी भन्दा पहिल्यै विकास गरिएको ब्राण्ड भएकाले पनि एसटीसी राइडको माग बढी रहेको कम्पनी बताउँछ ।
सँगसँगै, कम्पनीले आफ्ना उत्पादनमा निश्चित अवधिको ग्यारेन्टी नै दिएको छ । २ पाङ्ग्रेको ब्याट्रीमा ३६ महिना, ४ पाङ्ग्रेको ब्याट्रीमा पनि समान ३६ महिना र इन्भर्टरको ब्याट्रीमा ६० महिना ग्यारेन्टी नै दिइएको कम्पनीले जनाएको छ । इ–रिक्साको ब्याट्रीमा भने १२ महिनाको ग्यारेन्टी दिइएको छ ।
‘यो अवधिमा ब्याट्री बिग्रियो भने ब्याट्री फिर्ता लिइदिन्छौँ’ उप्रेतीले भने, ‘यसकारण हामीले वारेन्टी भन्दा पनि ग्यारेन्टी दिइरहेका छौँ भन्दा हुन्छ ।’
निकासी पनि सुरु
अहिले नेपाली बजारमा ब्याट्रीको कारोबार मासिक १०० करोड बराबरको हुँदै आएको छ । केही वर्ष अगाडीसम्म सरकारी टेण्डरसमेत जोड्दा वार्षिक २५ सय करोडसम्मको बजार थियो । अहिले पनि सरकारी टेण्डरबाहेक वार्षिक १२ सय करोडको यथावत रहेकाले बजारको कुनै समस्या छैन ।
‘हामीलाई बजारको समस्या छैन, चालु आर्थिक वर्षको अन्त्य सम्ममा ४ लाख युनिट ब्याट्री स्वदेशी बजारमा खपत हुने सम्भावना छ’ उप्रेती भन्छन्, ‘अटोमोटिभ ब्याट्री पनि हालसम्म ५० हजार युनिट उत्पादन भइसकेको छ । महिनामा दुइ पाङ्ग्रेका २५ हजार ब्याट्री उत्पादन गर्दै आएकोमा सबै ब्याट्री बिक्री हुने अवस्था बनेको छ । यस आधारमा यस आर्थिक वर्षको अन्तिमसम्म ४ लाख ब्याट्री बेच्छौँ भन्ने छ ।’

उनका अनुसार कम्पनीले भारतीय बजारमा पनि निकासी सुरु गरेको छ । यसका लागि एसटीसी इनर्जीले भारतीय सरकारबाट पूरा गर्नुपर्ने प्रक्रियासमेत पूरा गरिसकेको छ । यसैका आधारमा भारतीय बजारमा निकासी पनि सुरु भइसकेको छ । अहिले भारतीय बजारमा खुलेका इ–रिक्सा बनाउने कम्पनीहरुबाट समेत माग आउने क्रम बढिरहेको उप्रेती बताउँछन् । विभिन्न कम्पनीमा नमूना पनि पठाइएको छ ।
‘भारतमा ब्याट्री पठाउँदा त्यहाँको पोलुशन कन्ट्रोल डिपार्टमेन्टमा आफूले पठाउन चाहेको ब्याट्री बराबरको डिपोजिट गर्नुपर्छ, त्यो पनि मैले गएर गरेर हुँदैन, त्यहाँ एजेन्ट बनाएर गर्नुपर्छ’ उप्रेतीले भने, ‘उसले सर्टिफिकेट दिएपछि मात्रै बल्ल निर्यात गर्न पाइन्छ । अहिले हामीले दिल्लीमा एजेन्ट बनाएर सर्टिफिकेट लिने काम गरेका छौँ । निकट भविष्यमै भारतीय स्ट्याण्डर्ड (बीआईएस) पनि लिँदैछौँ । यसका लागि आवेदन दिइसकेका छौँ ।’
नेपालका एसेम्बल उद्योगले भने प्रयोग गरेका छैनन्
अहिले नेपालमा पनि एसेम्बल उद्योग खुलेका छन् । दुइ पाङ्ग्रेका धेरै ब्राण्ड नेपालमै एसेम्बल हुन्छन् । तर, ति कम्पनीहरुले आफूले एसेम्बल गर्ने सवारी साधनमा नेपालमै उत्पादन भएको ब्याट्री भने प्रयोग गरेका छैनन् ।
‘नेपालमा खुलेका एसेम्बल उद्योगहरुले एसटीसीका ब्याट्री लगेका छन् कि छैनन् ?’ भन्ने हाम्रो जिज्ञासामा एसटीसी इनर्जीका सञ्चालक उप्रेतीले भने, ‘अहिलेसम्म लैजानु भएको छैन । उहाँहरुलाई आवश्यक नपरेर होला । पहिल्यै उहाँहरुको ब्राण्डले अर्कैसँग सम्झौता गरिसकेको भएर पनि नलैजानु भएको हुन सक्छ । भविष्यमा लैजानु हुन्छ होला ।’
उनका अनुसार अहिले आयातित ब्याट्रीको तुलनामा एसटीसीले नेपालमै बनाएका ब्याट्रीको मूल्य ४० देखि ६० प्रतिशतसम्म सस्तो छ । अब भविष्यमा कम्पनीले विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्रीसमेत उत्पादन गर्ने लक्ष्य राखेको छ । यसका लागि नयाँ मेशिन राख्न उद्योगभित्र केही ठाउँ खाली समेत छोडिएको छ ।














good initiate
उद्योगले अझ भविष्यमा धेरै भन्दा धेरै प्रगति गरून् ।
देशमा उद्योगहरुको विकासबाट नै देशको विकास सम्भव छ ।
तसर्थ आउँदा दिन मा छिमेकी सार्क राष्ट्रहरु सम्मको निकासी होस भनि मेरो दुई शब्द यही तुँगाउछु।
Very good initiative, best wishes.