नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिमा असन्तुष्टि जनाएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा प्रतिक्रिया दिँदै नाइमाले आफूहरुले दिएका सुझावहरू मौद्रिक नीतिमा नसमेटिएको भन्दै असन्तुष्टि जनाएको हो । लोन टू भ्यालू रेसियो ८०ः२० बनाउन गरिएको अनुरोध र कर्जाको जोखिम भार १०० प्रतिशतबाट ७५ प्रतिशतमा झार्न दिइएको सुझावमा राष्ट्र बैंकले कुनै सुनवाइ नगरेको नाइमाको भनाइ छ ।
नाइमाले मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका कुनै पनि विषय समावेश नगरेको भन्दै यो अटोमोबाइल्स उद्योगका लागि अत्यन्त निराशाजनक विषय भएको पनि जनाएको छ । कर्जा लगानी बढाउने उदेश्य राखेर आएको भनिएको मौद्रिक नीतिले अटो कर्जाको पहुँच विस्तारका लागि कुनै स्पष्ट र लक्षित उपाय समावेश नगरेको नाइमाको बझाई छ ।
नाइमाले आफूहरुले दिएका सुझावहरूलाई समेटेर मौद्रिक नीतिमा आवश्यक समायोजन गर्न समेत आग्रह गरेको छ ।












