नेपाली काङ्ग्रेसले आफ्नो भागमा परेको नेपाल राष्ट्र बैंकको गभर्नर पदको लागि डा. विश्वनाथ पौडेलको नाम अघि बढाउने निर्णय गरेको छ। यस अघि काङ्ग्रेसले डा. गुणाकर भट्टलाई गभर्नर बनाउने तयारी गरेको थियो। तर उनले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट दिएको राजीनामा हाल कामु गभर्नर रहेकी डा. निलम ढुंगानाले स्वीकृत नगरेपछि अब काङ्ग्रेसले डा. पौडेललाई गभर्नरको लागि अघि बढाउने निर्णय गरेको हो ।
तर अहिले पौडेल सरकारले गठन गरेको गभर्नर सिफारिस समितिका सदस्य छन् । उनी गभर्नरको लागि सिफारिसमा पर्नको लागि अहिलेको गभर्नर सिफारिस समितिबाट राजीनामा दिनु पर्छ । त्यसपछि बन्ने सिफारिस समितिले बल्ल उनलाई गभर्नरमा सिफारिस गर्न सक्छ ।
अर्थमन्त्रीको संयोजकत्वमा रहने गर्भनर सिफारिस समितिको विज्ञ सदस्यको रुपमा हाल उनै डा. पौडेल सदस्य छन् । अर्का सदस्यमा भने निवर्तमान गभर्नर महाप्रसाद अधिकारी छन् । सुरुमा सो समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई सदस्य थिए। तर लामो समयसम्म पनि बैठक नबसेको भन्दै अशन्तुष्ट रहेका भट्टराईले राजीनामा दिएपछि सो स्थानमा महाप्रसादलाई ल्याईएको हो । यद्यपि महाप्रसाद सो समितिमा बस्न नमिल्दै भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ। यस्तो अवस्थामा अब सरकारले सिफारिस समितिमा दुवै जना नयाँ सदस्य नियुक्त गर्ने सम्भावना छ।
त्यसो त् डा. पौडेललाई गभर्नरलाई बनाउँदा पनि विवाद हुने निश्चित देखिएको छ। त्यसको कारण हो राष्ट्र बैंक ऐनको दफा २१ को (क) को प्रावधान । सो दफामा राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर बन्न नसक्ने उल्लेख छ। डा. पौडेल नेपाली काङ्ग्रेस कै सदस्य हुन् । उनी चितवनबाट २०७९ को निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए ।
संसदको प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक रुपमा नै उनलाई गभर्नर नबनाउन आग्रह गरेको छ । रास्वपाका केही सांसदहरुले सामाजिक संजालमा लेखेका छन् ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ (क) अनुसार कुनै पनि राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुने छैन भन्ने कानुनी प्रावधान रहेको छ। डा. बिश्वनाथ पौडेल चितवनबाट २०७९ को निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए । नेपाल सरकार र नेपाली कांग्रेसलाई विवादको संभावना रहेको र अदालतमा पुग्ने व्यक्तिमा नअल्झिन मेरो सुझाव छ।’
ग्रे लिस्टबाट गुज्रिरहेको नेपाललाई बाहिर निकाल्न र समग्र अर्थतन्त्रलाई लयमा ल्याउन पार्टीको सक्रिय कार्यकर्ता तथा नेता नभई योग्य र सक्षम ब्यक्तिलाई तत्काल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न समेत रास्वपाका सांसदहरुले माग गरेका छन्।
त्यसो त् सिफारिसमा पर्नु अगाडी नै डा. पौडेलले पार्टीको सदस्यबाट राजीनामा दिने नै छन् वा यस अघि नै दिईसकेका हुन पनि सक्छन् । तर उनी केहि समय अघिसम्म पार्टी कै सदस्य रहेको भन्दै कुलिङ पिरियडको विषय उठान गर्दै उनी अयोग्य रहेको दाबी सहित सर्वोच्चमा रिट निवेदन पुग्ने सम्भवना पनि उत्तिकै छ।
को हुन् डा. पौडेल ?
अर्थशास्त्री पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् । उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पनि भैसकेका छन्। पौडेल हाल काठमाडौं विश्वविद्यालयका प्रोफेसर हुन् । उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव पनि छ । उनले विश्वबैंकको लागि कन्सल्टेन्टको रुपमा पनि काम गरिसकेका छन् । उनी सानिमा बैंक र सानिमा मिडिल तमोर हाइड्रोको संचालक पनि भएका थिए।













