नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देश र अर्थतन्त्रलाई शीरमा राखेर आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्ने बताएका छन् । नेपाल व्यवस्थापन संघले आज मौद्रिक नीतिको लागि सुझाव लिन आयोजना गरेको छलफल कार्यक्रममा गभर्नर अधिकारीले देश र अर्थतन्त्रलाई शीरमा राखेर मौद्रिक नीति ल्याउने बताएका हुन् ।
उनले मौद्रिक नीतिमा आउने सबै व्यवस्था देशको हितमा नै हुने उल्लेख गरे । राष्ट्र बैंकले गठन गरेको मौद्रिक नीति सल्लाहकार कमिटीले पनि मौद्रिक नीतिको लागि काम गरिरहेको उनले बताए ।
मौद्रिक नीति कस्तो आउँछ भन्नेबारे केहि पनि सार्वजनिक नगरिने उनले बताए । अहिलेको अर्थतन्त्रको अवस्था, बाह्यक्षेत्रको अवस्था, महँगी दर लगायतका अवस्था हेरेर मौद्रिक नीति आउने उनको भनाई थियो । सबै संघ संस्था र व्यक्तिबाट आएका सुझावलाई अध्ययन गरेर देश र अर्थतन्त्रलाई हित हुने व्यवस्थालाई मौद्रिक नीतिमा समावेश गरिने उनको भनाई थियो।