नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनीहरु मध्ये शिवम् सिमेन्ट मात्र नाफामा देखिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार शिवम् सिमेन्ट मात्र नाफामा रहेको हो।
यस अवधिमा शिवम् सिमेन्टले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही समयमा शिवम् ५ करोड ३४ लाख रुपैयाँ घाटामा थियो । घाटामा अवस्थाबाट कम्पनीले १ करोड बढी नाफा कमाउन सफल भएको हो। नेप्सेमा सूचीकृत अन्य सिमेन्ट कम्पनीहरु (सोनापुर, घोराही र सर्वोत्तम) पहिलो त्रैमासमा घाटा मै रहेका छन् ।
शेयर प्रिमियम, रिजर्भ र सरप्लसमा पनि शिवम् सिमेन्ट नै अगाडी देखिएको छ। शिवमको शेयर प्रिमियम रिजर्भ ९५ करोड ६२ लाख रहेको छ। अन्य रिजर्भ र सरप्लसमा कम्पनीसँग ३ अर्ब ५३ करोड बढी रकम रहेको छ। हाल शिवमको चुक्ता पुँजी ५ अर्ब २ करोड रहेको छ। कम्पनीले आफ्नो शेयर प्रिमियमको पुरै रकम लाभांशको वितरण गर्न चाहेमा करिब १९ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको देखिन्छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा २५ करोड २ लाख बढी खुद नाफा कमाएको थियो । कम्पनीले सो खुद नाफा र शेयर प्रिमियमबाट लाभांश वितरण गर्न सक्छ । कम्पनीले हालसम्म आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा भने गरेको छैन ।
कम्पनीले आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७९/८० सम्म क्रमश १५.७८ प्रतिशत, १५.७८ प्रतिशत, २४.२१ प्रतिशत, २९ प्रतिशत, १०.५३ प्रतिशत र १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
शिवम सिमेन्टले आफ्नो सहायक कम्पनी शिवम होल्डिङग्स लिमिटेडबाट पनि नियमित लाभांश प्राप्त गर्दै आएको छ । शिवम होल्डिङग्स लिमिटेडको अधिकृत पूँजी रु. ५ अर्व ८० करोड र जारी पूँजी रु. ५ अर्व ८० करोड रहेकोमा संस्थापक समूहको तर्फबाट रु. ४ अर्व ६४ करोड चुक्ता भएको छ । रु.४ अर्व २१ करोड २० लाख होङशी शिवम सिमेन्ट प्रा.लि.मा शेयर लगानी छ । यस कम्पनीमा शिवम् सिमेन्टको करिव ८५ प्रतिशत र अन्य व्यक्तिगत लगानीकर्ताहरुको करिव १५ प्रतिशत शेयर लगानी रहेकोछ ।
शिवम होल्डिङग्स लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन पनि दिई सकेको छ। कम्पनीले प्रिमियम सहित प्रति कित्ता २१० रुपैयाँमा शेयर निष्काशनको अनुमति माग गरेको छ ।
शिवम सिमेन्टको एस.सि.एल.ईन्भेष्टमेण्ट प्रा. लि. नामको सहायक कम्पनी पनि छ । जसमा शिवम सिमेन्टको शत प्रतिशत लगानी रहेको छ । यसको अधिृकत पूँजी रु. ८१ करोड तथा जारी पूंजी रु. ८१ करोड छ । एस. सि. एल. इन्भेष्टमेण्टले विभिन्न १८ कम्पनीमा शतप्रतिशत शेयर स्वामित्व रहने गरि लगानी गरेको छ। अर्थात् एस. सि. एल. इन्भेष्टमेण्टका १८ वटा सहायक कम्पनी छन् र सबैमा एस. सि. एल. इन्भेष्टमेण्टको शतप्रतिशत स्वामित्व रहेको छ ।












