गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मङ्सिर १९ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पुस ३ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मङ्सिर ७ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मै शेयर निष्काशन गर्ने छ।
कम्पनीले २०८१ साउन २४ मा आईपीओ निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो । आवेदन दिएको साढे ३ महिना मै बोर्डले कम्पनीको आईपीओ स्वीकृत गरिदिएको छ।
अन्य कम्पनीले वर्षौसम्म कुर्दा पनि आईपीओ निष्काशनको अनुमति नपाईरहेको अवस्थामा गार्डियनले साढे ३ महिना मै आईपीओको अनुमति पाउँदा अन्य कम्पनीले अनुमति दिने प्रक्रिया मै प्रश्न उठाएका छन् ।












