हिमालय उर्जा विकास कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा २९८.२५ प्रतिशतले बढेको छ।
पहिलो त्रैमासको अवधिमा कम्पनीले १२ करोड ६२ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३ करोड १६ लाख ८८ हजार रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १८ करोड ९३ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ४४ प्रतिशतभन्दा बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १३ करोड १२ लाख ८० हजार रुपैयाँ थियो ।
कम्पनीको ब्याज खर्च पनि ७ करोड ८३ लाखबाट घटेर ५ करोड ६७ लाख कायम भएको छ। विद्युत बिक्रीको आम्दानी बढ्दा र ब्याज खर्च घट्दा कम्पनीको नाफा उलेख्य बढेको देखिन्छ ।
१ अर्ब ९८ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ भने १४ करोड रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनी हालै मात्र हकप्रद बिक्री सम्पन्न गरेको छ, यसबाट नयाँ आयोजना निर्माण गर्ने तयारी भईरहेको कम्पनीले जनाएको छ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ ३८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ९२.८६ रुपैयाँ रहेको छ।












