नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार ‘आयोनिक ५’ अब १०० किलोवाट मोटर क्षमतामा उपलब्ध गराउने भएको छ । १०० किलोवाट क्षमताको आयोनिक ५ ईभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ ।
आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले ३७५ किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ । आयोनिक ५ ले २०२२ को विश्व कार अफ दि इयर, विश्व इलेक्ट्रिक कार अफ दि इयर र विश्व कार डिजाइन अफ दि इयर लगायतका अवार्ड जितेको थियो ।
यो ईभी सन् २०२२ फेब्रुअरीमा नेपाल आएको थियो । हुन्डाई आयोनिक ५ प्रिमियम इलेक्ट्रिक कार मानिन्छ ।
आयोनिक ५ ईभीको मोटर पावर फरक भए पनि ईभीले दिने रेन्ज र अन्य स्पेक भने १२५ किलोवाटको जस्तै हुने कम्पनीले जनाएको छ ।
करिब एक महिनाभित्रै नयाँ गाडी नेपाली बजारमा उपलब्ध हुने र १०० किलोवाटको आयोनिक ५ खरिद गर्न चाहने ग्राहकले बुकिङ गर्न गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।
आयोनिक ५ नेपालमा उपलब्ध अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने ईभी हो । यसले ३५० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सर्पोट गर्छ । उक्त चार्जरले यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सक्छ ।













