ललितपुर उद्योग वाणिज्य संघले नेपालकै ठूलो पश्मिना निर्यातकर्ता कम्पनी ट्राईकोटलाई ‘एक्स्पोर्ट एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ । बुनाई कपडा निर्यात गर्नेमा नेपालकै पहिलो स्थानमा परेकाले ट्राइकोटलाई सम्मानित गरिएको संघले जनाएको छ ।
ट्राइकोट बुनाईका कपडा निर्यात गर्ने नेपालकै सबैभन्दा ठूलो कम्पनी हो । यस कम्पनीले ‘वुलन र कटन’ को धागोबाट निर्माण हुने पश्मिना, स्वेटर, सल, टोपी, मोजा जस्ता पुरुष तथा महिला दुवैका लागि कपडा बनाएर निर्यात गर्दै आएको छ ।
करिब २५ वर्षअघि चीन, भारत र नेपालकै व्यवसायीसँगको सामूहिक लगानीमा खुलेपनि २०६२ सालदेखि गोल्यान ग्रुपको एकल स्वामित्वमा संचालनमा आएको यस कम्पनीले युरोपमा सबैभन्दा बढी आफ्ना उत्पादन निर्यात गर्दै आएको छ भने अमेरिका र भारतमा पनि निर्यात गर्दै आएको छ ।
पछिल्लो ५ वर्षमा ट्राइकोटले १ अर्ब ९४ करोड रुपैयाँ बराबरको निर्यात गरेर नेपालको विदेशी मुद्रा संचितिमा योगदान पुर्याउदै आएको छ भने नेपाली बजारमा करिब १७ करोड रुपैयाँ बराबरको कपडा विक्री गरेर बुनाई कपडाको माग पुरा गरेको छ ।
आफ्ना उत्पादनहरु विश्वमा नाम चलेका कुजतेन, फिंच ह्याटेंन, माला अलिशा, मिन्निरोज, रेमोण्ड जस्ता विश्वका चर्चित ब्राण्डहरुलाई विक्री गर्दै आएको ट्राइकोटका प्रबन्ध निर्देशक शक्ति गोल्यानले बताए ।
“हामीले अहिले विश्वका नाम चलेका चर्चित ब्राण्डका कम्पनीहरुलाई आफ्ना उत्पादनहरु निर्यात गर्दै आएका छौँ” उनले भने, “इस्कच र बोसलिना ब्राण्डका कपडाहरु निर्यात गर्दै आएपनि यसको औपचारिक घोषणा गरेका छैनौं ।”
बिराटनगरमा उद्योग रहेको ट्राइकोटमा हाल ३५० भन्दा बढी कर्मचारीले प्रत्यक्षरु पमा काम गर्छन् । जसमा ७० प्रतिशत भन्दा बढी महिला कर्मचारी रहेका छन् ।












