सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग तथा ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले सहकारीको बचत रकम ठगीमा संलग्न विभिन्न व्यक्तिहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार पारेको छ । सोमबार समितिका सबै सदस्यहरुले हस्ताक्षर गरेपछि उक्त प्रतिवेदन संसदमा बुझाउने तयारी भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व गृहमन्त्री रबी लामिछाने सहकारी संस्थाबाट पैसा झिक्न संलग्न नरहेको समितिको निष्कर्ष छ । तर, सहकारीबाट जीवी राईले गोर्खा मिडियामा ल्याएको पैसा खर्च गर्नमा भने उनको संलग्नता रहेको समितिले फेला पारेको छ ।
लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहँदा त्यहाँ आएको रकम खर्च गर्दा उनले हस्ताक्षर भने गरेका छन् । गोरखा मिडियामा अध्यक्ष जीवी राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेका थिए ।
यस्तै, समितिले नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको ठहर गर्दै उनीमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।
समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको भन्दै अनुसन्धान गर्न सिफारिस गर्ने भएको हो ।
समितिले सहकारी सम्बन्धि छानबिन गरिरहेका बेला सहकारी मितेरी सहकारीका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानबिन विशेष समितिले मितेरी सहकारीको स्थलगत अध्ययन गरेको थियो । उनको संलग्नता पुष्टि हुने कागजात समितिले फेला पारेपछि समितिमा गुरुङमाथि अनुसन्धान गर्न सिफारिस गर्ने सहमति जुटेको बताइएको छ ।












