अन्तंत शेयरबजारमा एकल आईजीन नै लागु हुने भएको छ । नेपाल धितोपत्र बोर्डले साविकको व्यवस्था बमोजिम नै एकल आईजीन कायम गरि सोहि अनुसार आवश्यक कार्य अघि बढाउन सीडीएस एण्ड क्लियरिंगलाई निर्देशन दिएको हो ।
बोर्डका निर्देशन अनुसार लकइन अवधि सकिएका दुई वटा कम्पनीलाई सीडीएससीले पत्राचार गरेको छ । सीडीएसले इमर्जिंग नेपाल लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडलाई एकल आईजीन नै कायम गरिएको पत्र पठाएको हो । यस संगै अब यी दुबै कम्पनीका संस्थापक शेयरधनीहरुले आवश्यक प्रक्रिया पुरा गरेपछि आफ्नो नाममा रहेको शेयर बिक्री गर्न सक्ने छन् । संचालक र उच्च व्यवस्थापन तहमा रहेकाले भने शेयर बेच्न पाउने छैनन् ।
इमर्जिंग नेपाल लिमिटेडको लकइन अवधि २०८१ फागुन ३ गते नै सकिएको थियो भने कालिन्चोक दर्शन लिमिटेडको लकइन अवधि २०८२ माघ १७ मा सकिएको थियो । लकइन अवधि सकिएको भएपनि यी कम्पनीका संस्थापक शेयरधनीले आफ्नो शेयर बिक्री गर्न पाएका थिएनन् । अब भने एकल आईजीन कायम गर्ने निर्णय संगै यी कम्पनीका संस्थापकलाई शेयर बिक्रीको बाटो खुलेको छ।
सीडीएससीका अनुसार हाल लकइन अवधि सकिएका यी दुई कम्पनीको हकमा मात्र निर्णय भएको छ। बाँकी कम्पनीको हकमा पनि एकल आईजीन नै कायम हुने गरि निर्णय हुने छ।
सीडीएसले पछिल्लो समय आईपीओ आएका कम्पनीका संस्थापक लगानीकर्ताको खातामा उनीहरुको शेयर पठाएको छैन । शेयर खातामा पठाउने बारे कुनै निर्णय नभएको बताईएको छ।
यस अघि लामो समयदेखि एकल आईजीन कायम गर्ने कि डबल आईजीन कायम गर्ने भन्ने विवाद थियो । तर नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट आएपछि उनले एकल आईजीन नै लागु गरेका हुन्। आइजीनसँग सम्बन्धित विषय नेपालको मात्रै विषय नभई द एशोसिएसन अफ नेशनल नम्बरिङ एजेन्सिज (अन्ना) भनिने अन्तराष्ट्रिय संस्थाको नियमसँग जोडिने विषय भएकाले अन्नाले निर्दिष्ट गरेका प्रावधान अनुसार नै उनले एकल आईजीन अनुसार नै अघि बढ्ने निर्णय गरेका हुन्।
प्रविन पन्दाक सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको प्रबन्ध संचालक हुँदा सिडिएसले ‘धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका, २०८२’ को मस्यौदा तयार पारेर २०८२ साउनमा स्वीकृतिको लागि धितोपत्र बोर्डमा पठाएको थियो। सो निर्देशिकामा सिडिएसले कम्पनीहरुलाई डबल आईजीन दिने प्रस्ताव गरेको थियो । निजी क्षेत्रबाट ब्यापक विरोध र आलोचना भएपछि बोर्डले सो निर्देशिका स्वीकृत नगरी होल्ड नै राख्यो ।
धितोपत्र बोर्डमा नयाँ नेतृत्व आएसंगै अन्तराष्ट्रिय अभ्यास अनुरुप नै एकल आईजीनको साविक कै व्यवस्थाले निरन्तरता पाएको हो।









