बाढी तथा पहिरोका कारण काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपुर्ति असहज हुन थालेपछि बजार भाउँ नियन्त्रणभन्दा बाहिर पुगेको तथ्यले देखाएको छ । चामल, चिनी, तेल जस्ता दैनिक उपभोग्य वस्तु र फलफूलको भाउ पछिल्लो एक हप्तामै अचाक्ली बढेको पाइएको छ ।
होलसेल (थोक व्यवसायी)बाटै मूल्य बढेर आएको खुद्रा व्यवसायीहरुले बताउने गरेका छन् । थोक व्यवसायीहरुले बाटो सजिलो नभएका कारण मूल्य बढेको बताउने गरेको खुद्रा व्यवसायीहरुको भनाइ छ । चिनीको हकमा होलसेल ब्यापारीले बिल दिनै नमान्ने नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरको आरोप छ ।
‘बिल चाहिँदैन भन्यो भने होलसेलले प्रतिकिलो १२० रुपैयाँमा चिनी दिन्छन्, तर हामीले उपभोक्तालाई बिल दिनुपर्छ । अहिले सरकारले चिठ्ठा कार्यक्रम ल्याएपछि बिल माग्ने क्रम बढेको छ’ उनी भन्छन्, ‘हामीले ग्राहकलाई बिल दिनु परेपछि हामीले पनि होलसेललाई बिल देउ भन्नैपर्यो । तर, होलसेलले बिल दिँदैनन् । बरु चिनी नै छैन भन्न थालेका छन् ।’
तेलको भाउ कार्टुनमा ५ सय बढ्यो
खाना पकाउन प्रयोग हुने तेलको भाउ पनि कार्टुनमै ४ देखि ५ सयसम्म बढेको छ । सन्फ्लावर तेलको भाउ अघिल्लो हप्तासम्म प्रतिकार्टुन २ हजार ८ सय रुपैयाँ थियो । ब्राण्ड अनुसार केही तलमाथि भएपनि अहिले अहिले कार्टुनमा ५ सय रुपैयाँ बढेर ३ हजार ३ सय रुपैयाँ पुगेको छ ।
खुद्रामा किन्दा प्रतिलिटर सनफ्लावर तेल ब्रान्ड अनुसार प्रतिलिटर ३ सयदेखि ३ सय ५० रुपैयाँ र तोरीको तेल प्रतिलिटर ३७५ रुपैयाँदेखि ४ सय रुपैयाँसम्म पुगेको व्यवसायीहरुको भनाइ छ ।
१६० रुपैयाँमा पनि पाइन छोड्यो चिनी
चाडवाडको सिजनमा सबैभन्दा धेरै खपत हुने चिनीको भाउ अहिले नै अचाक्ली बढेको छ । भारतबाट चिनी आयात हुन नसकेको र स्वदेशी उद्योगको स्टक सकिन थालेपछि बजारमा चिनीको अभाव देखिएको छ । अभाव हुन थालेसँगै अहिले बजारमा चिनीको भाउ प्रतिकिलो १६० रुपैयाँसम्म पुगेको छ ।
गत हप्तासम्म होलसेलमा प्रतिकिलो ११५ रुपैयाँ र खुद्रामा प्रतिकिलो १२० रुपैयाँ पुगेको चिनीको भाउ यो हप्ता सुरु हुनासाथ १२५ रुपैयाँ प्रतिकिलो पुगेको थियो । तर, बुधबारसम्म आइपुग्दा बजारमा चिनीको भाउ १६० रुपैयाँ पुगेको छ । तर, १६० रुपैयाँ तिर्छु भन्दा पनि चिनी नपाएको उपभोक्ताको गुनासो छ ।
चामल प्रतिबोरा ३ सय महँगियो
तेल र चिनी सँगसँगै चामलको भाउ पनि आकासिएको छ । बजारमा चामलको भाउ ब्राण्ड अनुसार प्रतिबोरा देखि ३ सयदेखि ४ सय रुपैयाँसम्म बढेको छ ।
यसअघि प्रतिबोरा (२० किलो) २ हजार ३ सय रुपैयाँ पर्ने चामलको मूल्य अहिले २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्म पुगेको छ । ३० किलोको चामल पनि प्रतिबोरा २ सय रुपैयाँसम्म महँगिएको छ ।
नेपाल चामल, तेल, दाल उद्योग संघले भने उद्योगले मूल्य नबढाएको बरु ढुवानीको लागत बढेका कारण उपभोक्तासम्म पुग्दा उपभोग्य वस्तुको मूल्य विगतको तुलनामा केही बढेको हुन सक्ने जनाएको छ । यद्यपी, चामलको हकमा भने भारतबाट आयात हुने धानको मूल्य बढेका कारण उद्योगहरुले प्रतिबोरा ५० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बढाउनु परेको संघका एक पदाधिकारीले स्वीकार गरेका छन् ।
बजार नियन्त्रणको प्रयास असफल
भोटेकोशी बाढी र सोही क्रममा पृथ्वी राजमार्ग भासिएपछि काठमाडौँ उपत्यका र उत्तरी भेगका जिल्लाहरुमा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको भाउ बढ्न सक्ने भन्दै वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकामा बजार अनुगमन तीव्र बनाएको छ । तर, यसको प्रभाव देखिएको छैन ।
साथै, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले पनि बजार अनुगमनका लागि अहिले १० टोली खटाएको छ । थप ६ टोली पनि खटाउँदैछ । यी टोलीहरुले नियमित बजार अनुगमनसहित उपभोक्ताहरुबाट आउने गुनासोका आधारमा पनि बजारमा अनुगमन गर्ने मन्त्रालय बताउँछ । तर, एक हप्तामै उपभोक्ता महँगी अचाक्ली वृद्धि भइसकेको तथ्याङ्कमै देखिँदासमेत यी टोलीहरुको प्रभावकारिता भने देखिएको छैन ।









