अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ। नियमन आयोगले भदौ ८ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति दिएको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्नको लागि अनुमति माग गरेको थियो। कम्पनीले मातृभूमि हाइड्रोपावरले विकास गरिरहेको १५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्न र अपर हेवाखोला साना जलविद्युत आयोजना (८.५ मे.वा) को निर्माण गर्दा बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण घटाउनको लागि हकप्रद अनुमति माग गरेको थियो।
कम्पनीले शतप्रतिशत हकप्रदको अनुमति माग गरेको भए पनि आयोगले भने कम्पनीलाई ९१.३० प्रतिशत हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति दिएको हो । अब कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिने छ। बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।











