नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत गठित आठ वटा विषयगत समितिले पूर्णता पाएका छन् । समितिहरूका उपसभापति, सदस्य तथा सल्लाहकारहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा मनोनयन पत्र हस्तान्तरण गर्दै महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले महासंघका विषयगत समितिहरूको सक्रियता नै निजी क्षेत्रको सशक्तीकरण र मुलुकको समृद्धिको महत्वपूर्ण आधार भएको बताए । उनले समितिहरू सरकार र निजी क्षेत्रबीच नीतिगत संवाद, समस्या समाधान र सुधारका एजेन्डा अघि बढाउने प्रभावकारी संयन्त्र भएको बताए ।
“समितिका सदस्यहरूले आफ्नो अनुभव, विज्ञता र व्यावसायिक दक्षतालाई राष्ट्रको आर्थिक विकासमा उपयोग गर्नुपर्छ । उद्योग, व्यापार, लगानी, निर्यात, उद्यमशीलता तथा रोजगारी विस्तारका क्षेत्रमा परिणाममुखी ढंगले काम गर्न सके मात्रै समितिको उद्देश्य पूरा हुन्छ” उनले भने ।
महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले विषयगत समितिहरू महासंघको नीतिगत एजेन्डा निर्माणका महत्वपूर्ण आधार भएको बताउँदै निजी क्षेत्रका साझा मुद्दालाई एकीकृत रूपमा अघि बढाउन समितिहरूको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे । उनले विभिन्न वस्तुगत संघहरूको अनुभव र सुझावलाई समितिमार्फत नीतिगत निर्णय प्रक्रियासम्म पुर्याउनुपर्नेमा जोड दिए ।
एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले समितिहरूलाई निजी क्षेत्रका नयाँ सोच, नवप्रवर्तन र व्यावसायिक अवसर पहिचान गर्ने साझा मञ्चका रूपमा प्रयोग गर्नुपर्ने बताए । उनले सरकारसँग तथ्यमा आधारित संवाद गर्दै सुधारका प्रस्ताव अघि बढाउन समितिहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उल्लेख गरेका छन् ।
कोषाध्यक्ष मनीषलाल प्रधानले समितिहरूको प्रभावकारिता उनीहरूको कार्यसम्पादनबाट मापन हुने बताउँदै निजी क्षेत्रका व्यवहारिक समस्या समाधान र आर्थिक गतिविधि विस्तारमा केन्द्रित भएर काम गर्न सदस्यहरूलाई आग्रह गरे । उनले समितिका सुझावहरूले महासंघको नीतिगत धारणा थप सशक्त बन्ने विश्वास व्यक्त गरेका छन् ।
महासंघका कार्यकारिणी समिति सदस्य उज्ज्वल श्रेष्ठको सभापतित्वको उद्योग समिति, अरनिको राजभण्डारीको सभापतित्वमा रहेको कर तथा राजस्व समिति, नानीराज घिमिरे सभापतित्वको सीप विकास तथा रोजगार समिति, होम प्रसाद घिमिरेको सभापतित्वमा रहेको निर्यात प्रवद्र्धन समिति, राजकुमार कार्कीको सभापतित्वको सामाजिक सेवा एवं विपद् तथा दैवी प्रकोप समिति, प्रियराज रेग्मीको सभापतित्वको पूँजी बजार समिति र सुनिता न्हेमाफुकीको सभापतित्वमा रहेको महिला उद्यमी विकास समिति तथा साहारा जोशीको सभापतित्वमा गठित स्टार्टअप एण्ड एनोभेसन समितिका उपसभापति, सदस्य र सल्लाहकारहरूलाई मनोनयन पत्र प्रदान गरिएको थियो ।
उद्योग समितिका सभापति उज्ज्वल श्रेष्ठले उद्योग क्षेत्रका विद्यमान समस्या समाधानका लागि समितिले व्यावहारिक सुझाव तयार गरी महासंघमार्फत सरकारसमक्ष प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अन्य वक्ताहरूले पनि विषयगत समितिहरू महासंघको नीति निर्माण, निजी क्षेत्रका साझा एजेन्डा पहिचान तथा सरकारसँग प्रभावकारी समन्वय गर्ने प्रमुख माध्यम भएकाले सबै सदस्यले सक्रिय, जिम्मेवार र परिणाममुखी ढंगले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।









