नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा नयाँ व्यवस्था गरेको छ। राष्ट्र बैंकले बुधबार साँझ निर्देशन जारी गर्दै शेयर धितो कर्जामा नयाँ व्यवस्था गरेको हो।
नयाँ व्यवस्था अनुसार धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सबलताको आधारमा कर्जा प्रवाहको लागि बैंक तथा वित्तीय संस्थाले Product Paper बनाउँदा विभिन्न ६ विषय समावेश गरी संस्थाको सबलता मूल्यांकन गर्ने विधि अवलम्बन गर्नुपर्नेछ । सबलता मूल्यांकनको आधारमा उच्च मूल्यांकन हुने संस्थाको शेयरको कर्जा ऋण–मूल्य अनुपात (LTV) मा थप १० प्रतिशतसम्म अर्थात् अधिकतम ८० प्रतिशतसम्म सुविधा दिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
संस्थाको सबलता मूल्यांकन गर्दा चुक्ता पुँजीको आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, नाफा रहेको तथा लाभांश वितरण गरेको अवस्था र समयावधि, क्रेडिट रेटिङ्ग,नियामकीय व्यवस्थाको पालना, नियमित साधारणसभा सम्पन्न भए÷नभएको विषय समावेश गर्नु पर्ने छ। र यस्तो product Paper बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा राख्नुपर्नेछ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीका अनुसार यस नयाँ व्यवस्थाले राम्रो कम्पनीका शेयरमा ऋण प्रवाह बढ्ने र शेयर बजारमा तरलता सुधार हुन सक्ने सम्भावना छ। साथै बैंकहरूले जोखिम आधारित मूल्यांकन प्रणाली पनि विकास गर्नुपर्ने छ।









