विद्युतीय सवारी साधनको मोटर क्षमता सम्बन्धमा भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाईमा) ले ध्यानाकर्षण भएको जनाएको छ । नाईमाले ईभीको मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्याङ्कन सम्बन्धी विषयमा स्पष्ट, व्यवहारिक र एकरुपता आवश्यक रहेको सन्दर्भमा यसअघि नै पटकपटक उठाइसकिएको जनाएको छ ।
नेपालमा आयात भइरहेका विद्युतीय सवारी साधनहरु अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीहरुले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा आयात हुँदै आएको जनाउँदै नाईमाले विश्व ओटोमोबाइल उद्योगमा एउटै मोडलका सवारी साधन विभिन्न देश, नियामकीय संरचना तथा बजार आवश्यकताअनुसार फरक–फरक प्राविधिक स्पेसिफिकेशनमा उत्पादन हुनु सामान्य अन्तर्राष्ट्रिय अभ्यास भएको स्पष्ट पारेको छ ।
केवल वेबसाइटमा देखिएका विवरण, मोडल नाम वा बाह्य जानकारीका आधारमा मोटर क्षमता सम्बन्धि निष्कर्ष निकालिनु प्राविधिक रुपमा विश्वसनीय आधार मान्न नसकिने भन्दै नाईमाले हाल नेपालमा ईभीसँग सम्बन्धित मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली तथा एकीकृत कार्यविधि पूर्ण रुपमा कार्यान्वयनमा नआएको पनि स्मरण गराएको छ । यो अस्पष्टताले विभिन्न तहमा भ्रम, अन्योल तथा फरक–फरक व्याख्या आइरहेको र ईभीको प्राविधिक मूल्याङ्कन आधिकारिक उत्पादक कम्पनीबाट जारी प्रमाणित विवरण, अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्र तथा स्थापित प्राविधिक मापदण्डका आधारमा गरिनुपर्ने नाईमाको भनाइ छ । सम्बन्धित सरकारी निकायहरुबीच एकरुपको व्याख्या तथा कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट प्राविधिक कार्यविधि, परीक्षण पूर्वाधार तथा प्रमाणीकरण प्रणाली तत्काल विकास गरिनुपर्ने आवश्यकता पनि नाईमाले औल्याएको छ ।
विद्युतीय सवारी साधन नेपालको स्वच्छ उर्जा उपयोग, दिगो यातायात प्रणाली विकास तथा हरित अर्थतन्त्र प्रवर्दधन गर्ने महत्वपूर्ण माध्यमका रुपमा स्थापित हुँदै गइरहेको र ईभी क्षेत्रको विस्तारले स्वदेशी स्वच्छ उर्जाको प्रभावकारी उपयोग बढाउने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने तथा समग्र उर्जा तथा यातायात क्षेत्रको दीर्घकालीन दिगोपनामा सकारात्मक योगदान पुर्याइरहेको नाईमाको भनाइ छ ।
राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रुपमा जोडिएको यस क्षेत्रसँग सम्बन्धित विषयहरुलाई तथ्य, प्राविधिक अध्ययन तथा अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नै मूल्याङ्कन गरिनु आवश्यक रहेको भन्दै नाईमाले विद्युतीय सवारी क्षेत्रसँग सम्बन्धित प्राविधिक तथा नीतिगत विषयहरुलाई पर्याप्त अध्ययन, प्रमाणित तथ्य तथा स्थापित अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नै विश्लेषण गरिनु आवश्यक रहेको धारणा सार्वजनिक गरेको छ ।
अपुष्ट सूचना वा फरक–फरक व्याख्याले बजारमा अनावश्यक अन्योल सृजना गर्नुका साथै उपभोक्ता विश्वास, लगानीको वातावरण तथा विद्युतीय सवारी क्षेत्रको दीर्घकालीन विकास प्रक्रियामा असर पार्न सक्ने जोखिमतर्फ संकेत गर्दै नाईमाले स्पष्ट, पारदर्शी तथा व्यवहारिक प्राविधिक प्रणाली विकासका लागि रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता पनि जनाएको छ ।












