ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफु मातहतका सबै कम्पनीका सीइओ र संचालक समितिका सदस्यहरुलाई राजीनामा दिन निर्देशन दिएको छ । बिहीबार ऊर्जा सचिव चिरन्जीवी चटौतले मन्त्रालय मातहतका सबै कम्पनीका सीइओ र संचालक समितिका सदस्यहरुलाई बोलाएर राजीनामा दिनको लागि आग्रह गरेका मन्त्रालय मातहतका एक कम्पनीका सीइओले जानकारी दिए।
ति सीइओका अनुसार सचिव चटौतले एचआईडीसीएल, बुढीगण्डकी जलविद्युत कम्पनी, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, विद्युत उत्पादन कम्पनी र वैकल्पिक उर्जा प्रबर्दक केन्द्रका सीइओ र संचालकहरुलाई राजीनामा दिन भनेका हुन् । उनीहरुलाई कुनै पत्र नदिएको तर नयाँ जनादेशको सरकारले नयाँ ढङ्गबाट काम गर्न खोजेकोले मौखिक रुपमा राजीनामा गर्नको लागि भनिएको छ।
हाल एचआईडीसीएलको सीइओमा प्रजेश विक्रम थापा, बुढीगण्डकी जलविद्युत कम्पनीको सीइओमा अरुण रजौरिया, राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको सीइओमा सागर श्रेष्ठ र वैकल्पिक उर्जा प्रबर्दक केन्द्र कार्यकारी निर्देशकमा नव राज ढकाल रहेका छन्। विद्युत उत्पादन कम्पनीमा भने सीइओ पद रिक्त छ । यी निकायका संचालकहरुमा भने विभिन्न मन्त्रालयका उच्च कर्मचारीहरु पदेन सस्दयको रुपमा छन्। कर्मचारी पदेन रहने सदस्य बाहेक अन्य नियुक्ति लिएकाको हकमा राजीनामाको लागि आग्रह गरिएको बताईएको छ।
राजीनामा दिन भनिएका मध्ये एक सीइओले बिना आधार राजीनामा दिँदा आफुले अक्षम देखिने र गल्ति गरेको जस्तो देखिने भएकोले एक पटक मन्त्री समक्ष आफ्ना कुरा राख्ने वातावरण बनाईदिनको लागि सचिवमार्फत आग्रह गरिएको बताए। उनले सरकारले भनेपछि आफु राजीनामा दिन तयार रहेको तर एकपटक मन्त्री समक्ष कुरा राख्नको लागि आग्रह गरिएको बताए।
उनका अनुसार सरकारले हटाएमा वा हट्न भनेमा सो पत्र सहित कानूनी उपचारमा जान सकिने भएपनि सरकारले लिखितमा केही पनि नदिएकोले कानूनी उपचारमा जान असम्भव भएको उल्लेख गरे। आफुहरुको नियुक्ति राजनीतिक नभई लोक सेवा आयोगका प्रतिनिधि सहितको उपस्थितिमा सम्पूर्ण प्रक्रिया पुरा गरेर नियुक्त लिएको उनको भनाई छ । यद्यपि आफुपनि देशको एक नागरिक नै रहेकोले सरकारले हट्न भनेपछि राजीनामा दिने उनी बताउछन् ।












