नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन्। उनले हिजो सोमबार साँझ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।
उनलाई तत्कालीन केपी ओलीको सरकार हुँदा उपप्रधान एवं अर्थमन्त्री रहेका विष्णु पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै अध्यक्ष नियुक्त गरेका थिए। नियुक्तिको ८ महिना पनि नपुग्दै उनले राजीनामा दिएका हुन् ।
स्रोतका अनुसार बस्यालले जेन्जी आन्दोलनपछि बनेको सरकारका अर्थमन्त्री रामेश्वर खनाललाई नै राजीनामा बुझाउने तयारी गरेका थिए। तर त्यस समय मन्त्री खनालले राजीनामा नदिन र नियमित काम गर्न भनेपछि बस्याल रोकिएका थिए। चुनावपछि सरकार गठन भएपछि पनि बस्यालले राजीनामा दिन खोजेका थिए। संसदमा रास्वपा सभापति रवि लामिछानेले राजनीतिक नियुक्ति लिएकालाई मार्ग प्रसस्त गर्न भनेपछि फेरि बस्यालले राजीनामा दिन खोजेका थिए।
संसदमा रविले भाषण गरेको केही दिनपछि बसेको नेप्सेको संचालक समितिको बैठकमा बस्यालले अर्को बैठकमा अध्यक्ष नहुन सक्छ भनेर केहि हस्ताक्षर गर्न बाँकी भए ल्याउनको लागि नेप्सेको कम्पनी सचिवलाई निर्देशन दिएको नेप्सेका एक संचालक बताउछन् ।
स्रोतका अनुसार उनले राजीनामा दिनको लागि मन्त्रीको समय नै पाएका थिएनन् । सोमबार भने उनले मन्त्रीलाई भेटेर राजीनामा दिएका हुन् ।













