शिक्षा क्षेत्रका दुई वटा कम्पनीले आईपीओ निष्काशन गर्ने भएका छन्। ग्लोबल कलेज ग्रुप अन्तर्गतका प्रोफेसनल होल्डिंग्स लिमिटेड र युनिग्लोब हायर सेकेण्डरी स्कुल काठमाडौँ लिमिटेडले आईपीओ निष्काशन गर्ने भएका छन् ।
यी दुवै कम्पनीले आगामी चैत्र २८ गते बानेश्वरमा रहेको ग्लोबल कलेजमा साधारणसभा आह्वान गरेका हुन् । सभामा विशेष प्रस्ताव अन्तर्गत दुवै कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पनि समावेश गरेका छन् ।
दुवै कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश पनि प्रस्ताव गरेका छन् । जसमा प्रोफेसनल होल्डिंग्स लिमिटेडले ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै युनिग्लोब हायर सेकेण्डरी स्कुल काठमाडौँ लिमिटेडले ५ प्रतिशत बोनस शेयर र २.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
यी दुवै कम्पनीका अध्यक्ष खगेन्द्र ओझा हुन् । यी कम्पनी अन्तर्गत ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कुल अफ साइन्स, युनिग्लोब स्कुल/कलेज, भ्याली भ्यु स्कुल, ग्लोबल कलेज इन्टरनेसनल र लिबर्टी कलेज सञ्चालनमा छन् ।
२०८१ साउनमा नेपाल लाइफ इन्स्योरेन्सले यी कम्पनीमा लगानी गरेको थियो । नेपाल लाइफले प्रोफेसनलमा ७३ करोड ७२ लाख रुपैयाँ लगानी गरी ३५.३२ प्रतिशत स्वामित्व लिएको थियो भने युनिग्लोब हायर सेकेण्डरी स्कूलमा ६० करोड लगानी गरी ४७.६२ प्रतिशत सेयर स्वामित्व लिएको थियो।













