नेपाल भित्रिने रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२÷८३ को ७ महिनामा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई रु.१२६१ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।
२०८२ माघ महिनामा विप्रेषण आप्रवाह रु. १९८ अर्ब ८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १३७ अर्ब ५० करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. १३८४ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.९८६ अर्ब ३४ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २,४५,१५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २,२७,४२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २,७४,६२२ र १,९०,८८६ रहेको थियो ।













