नेपालको अग्रणी इलेक्ट्रोनिक्स कम्पनी सिजी इलेक्ट्रोनिक्सले ‘वर्ल्डकप मुम्बई ट्रिप योजना’ का विजेताहरूलाई फागुन १ गते शुक्रबार मुम्बई प्रस्थान गराएको छ । आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल मुम्बईको वानखेडे स्टेडियमबाटै प्रत्यक्ष हेर्ने अवसर पाएका ४० जना विजेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बई उडेका हुन् ।
कम्पनीले गत मंसिर २९ गतेदेखि माघ १२ गतेसम्म सञ्चालन गरेको यस विशेष वर्ल्डकप लक्षित योजनामा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो । उक्त समयावधिमा सिजी इलेक्ट्रोनिक्स अन्तर्गतका विश्वप्रख्यात ब्रान्डहरू एलजी, सिजी, सिजी SDA, टिसिएल, ब्ल्याक+डेकर, गोदरेज, सेन्साई, माइडिया, केन्ट र क्राम्प्टनका उत्पादनहरू खरिद गरी हजारौं ग्राहकहरूले एसएमएसमार्फत सहभागिता जनाएका थिए । सहभागीहरूमध्येबाट डिजिटल गोलाप्रथा मार्फत निष्पक्ष रूपमा यी ४० जना भाग्यशाली विजेताहरू छनोट गरिएको कम्पनीले जानकारी दिएको छ ।
विजेताहरूले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन् । कम्पनीका अनुसार यस प्याकेजमा काठमाडौँ-मुम्बई-काठमाडौँ दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटेलमा बसाइ तथा खानपिनको उत्कृष्ट व्यवस्था गरिएको छ । साथै, विजेताहरूले मुम्बईको प्रसिद्ध स्थानहरूको अवलोकन भ्रमण (सिटी टुर) गर्नुका साथै वानखेडे स्टेडियममा हुने नेपाल र वेस्ट इन्डिजबीचको रोमाञ्चक खेलको विशिष्ट टिकट समेत प्राप्त गरेका छन् ।












