शनिवारदेखि सुरु भएको टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल खेल्दै छ। आज नेपाल र इटालीबीच खेल हुन लागेको हो ।
खेलमा नेपालले टस हारेको छ, र इटालीले नेपाललाई पहिले ब्याटिंग गर्नको लागि निम्तो दिएको छ । यस अघि गत आइतबार नेपालले आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको थियो । आजको खेलको लागि टिममा एक परिवर्तन गरिएको छ , इंल्यान्डविरूद्ध खेलेका स्पिनर शेर मल्लको स्थानमा आज ललित राजवंशी खेल्दैछन्।
२० टिमहरू सहभागी भएको यस विश्वकपमा नेपाल समूह सी मा रहेको छ, जसमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली पनि छन्। आजको खेलपछि बाँकि खेलहरुमा नेपालले फागुन ३ मा वेस्ट इन्डिजसंग र फागुन ५ मा स्कटल्यान्डसँग खेल्ने छ । नेपालको सबै खेल मुम्बईको वानखेडे स्टेडियममा हुनेछ । समूह चरणको खेलहरुपछि शिर्ष २ मा रहने २ टिम अर्को चरण प्रवेश गर्ने छन् ।
नेपालले तेस्रो पटक टि २० विश्वकप खेलिरहेको हो। यस पटकको प्रतियोगिता भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका छन् ।












