अहिले उद्योगी व्यवसायीमा मात्रै होइन, आम उपभोक्तामा पनि नैराश्यता छ । उपभोक्ता माग धेरै हुने काठमाडौँ जस्तो शहरमा पनि व्यवसायिक गतिविधि तुलनात्मक रुपमा कम हुन थालेका छन् । यस्तो समयमा उद्योग वाणिज्य संघ काठमाडौँले उपभोक्ता माग बढाउँदै आर्थिक गतिविधि चलायमान बनाउने उदेश्यले माघ १४ गतेदेखि १७ गतेसम्म काठमाडौँ महोत्सव (काठमाडौँ बिजनेश एक्स्पो) आयोजना गर्न लागेका हौँ ।
उत्सवमय काठमाडौँ बनाउने लक्ष्यले आयोजना गर्न लागिएको महोत्सवलाई काठमाडौँ महानगरपालिकासहित काठमाडौँका विभिन्न नगरपालिकाहरुले सहयोग गरेका छन् । महोत्सवमा २०० स्टलहरु रहने छन् । उद्घाटनका दिन बिहान ९ बजे वसन्तपूरबाट स्थानीय बाजागाजा र झाँकी सहितको र्याली भृकुटीमण्ड पुग्नेछ । त्यहाँ भव्य उद्घाटन हुनेछ ।
हामीले पहिलोपटक आयोजना गर्न लागेको महोत्सवमा रैथाने खाना, स्थानीय उत्पादन, हाम्रा मौलिक उत्पादनहरु, महिला उद्यमी, लघु तथा घरेलु उद्यमीहरुका उत्पादनहरु प्रदर्शनीमा राखिनेछ । बालबच्चाहरुका लागि खेल्ने ठाउँसहित भिजिटर्सहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरेका छौँ ।
हाम्रो अर्को उदेश्य भनेको, आन्तरिक पर्यटनको प्रवद्र्धन पनि हो । काठमाडौँसहित बागमती प्रदेशका गन्तव्यहरुको प्रचारसहित नेपाल पर्यटन बोर्डले पनि महोत्सवमा सहभागीता जनाउँदैछ । विभिन्न पर्यटकीय देशहरुमा पर्यटकलाई आकर्षण गर्न कुनै न कुनै कार्यक्रम भइरहेका हुन्छन् । हामीले पनि बाह्य र आन्तरिक पर्यटकलाई आकर्षित गरिरहन सकियोस् भनेर काठमाडौँको रैथाने खाना, यहाँको संस्कृति र नाँच नृत्यहरु प्रस्तुत गर्नेछौँ । नेवारी, स्याब्रु, तामाङ जस्ता समुदायका सांस्कृतिक नाँचहरु पनि देखाउनेछौँ । साथै, युवाहरु लक्षित कन्सर्ट पनि आयोजना हुनेछ । हरेक दिन फरक फरक कलाकारहरुले आफ्नो प्रस्तुति दिनुहुनेछ ।
चार पाङ्ग्रे र दुइ पाङ्ग्रे सवारीका स्टलहरु पनि रहनेछन् । तिनले विभिन्न एक्सचेन्ज अफरहरु पनि ल्याउने छन् । बंगलादेश र भारतबाट पनि सहभागीता छ । यसले नेपाली उत्पादनलाई बजारीकरणमा योगदान दिनेछ ।
समग्रमा भन्नुपर्दा, काठमाडौँ महोत्सव उत्पादनको बिक्री र प्रवद्र्धनसहित हाम्रा अवसरहरु प्रस्तुत गर्ने थलोका रुपमा रहने छ । खरिदकर्तालाई उत्पादक तथा बिक्रेताले छुटसमेत प्रदान गर्ने हुनाले खरिदकर्ता उपभोक्ताहरुका लागि पनि यो महोत्सव आफ्नो गन्तव्य बन्नेछ ।
१४ गते उद्घाटन हुन्छ, १६ र १७ गते सार्वजनिक बिदा पनि परेकाले मानिसहरुको उलेख्य उपस्थिति रहने छ । ४ दिनमा १ लाखभन्दा बढी मानिसहरुले महोत्सव अवलोकन गर्नुहुनेछ भन्ने हाम्रो अनुमान छ । यो अवधिमा आर्थिक कारोबार मात्रै ५/६ करोड सम्मको हुन्छ भन्ने हाम्रो आँकलन छ ।
यो वर्ष हामीले पहिलो प्रयास स्वरुप आयोजना गर्न लागेका हौँ । आगामी वर्ष महानगरपालिका र नगरपालिकाहरुसँगको साझेदारी र सहकार्यलाई निरन्तरता दिँदै यसलाई ‘क्यालेन्डर इभेन्ट’कै रुपमा निरन्तरता दिने हाम्रो लक्ष्य छ ।
नेपालको राजधानी, सबै खालका उत्पादनहरुको मुख्य बिक्री केन्द्र र उपभोक्ताहरुको सबैभन्दा ठूलो बजारका रुपमा रहेको काठमाडौँमा आयोजना हुन लागेको यस महोत्सवमा सहभागीताका लागि म सबैमा अनुरोध पनि गर्दछु ।
(महोत्सव आयोजक उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठसँगको कुराकानीमा आधारित)













