नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गर्दै आजदेखि नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका खेल सुरु भएकाले खेलमैदानबाहिर भीडभाड नगर्न आग्रह गरेको हो ।
प्रहरीले आजको खेलका सम्पूर्ण टिकटहरू बिक्री भइसकेको जानकारी सम्बन्धित निकायबाट प्राप्त भएकाले खेलमैदानबाहिर गएर अनावश्यक भीडभाड नगर्न आग्रह गरेको हो। प्रहरीले खेलप्रेमीलाई आफ्नो अनुकूल स्थानमा रहेर हेर्न, खेलस्थलको बाहिर भीड नगरिदिन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गरी नागरिक दायित्व निर्वाह गर्नसमेत अनुरोध गरेको छ ।
यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् । त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो संस्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ ।
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएकोले दर्शकले सिट्मै बसेर प्रतियोगिता हेर्न पाउने भएका छन् भने फ्लड लाइटका कारण खेलहरु अन्य देशका रङ्गशाला सरह रातिसमेत सञ्चालन हुनेछन् ।
सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानलाई पहिलो एनपिएलको पूर्व सन्ध्यामा आइतबार साझ मात्र चरणका संरचना हस्तान्तरण गरेको थियो । प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरूप रु एक करोड १० लाख प्रदान गरिनेछ । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले रु १५ लाख प्राप्त गर्नेछ ।
सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ । पहिलो दिनको खेलको टिकट दुई दिन अगाडि नै बिक्री भइसकेको छ । उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ रु एक हजार ५०० राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ । प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ रु दुई हजार राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार तय गरेको छ ।
एनपिएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक एनपिएलबाट रु ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य छ ।












