विश्व फुटबलमा एक अनौठो र आश्चर्यजनक परिस्थिति देखिएको छ। युरोपेली फुटबलको सानो टोली सान मारिनो (फिफा वरीयता २१०) ले सन् २०२६ को विश्वकप छनोटमा प्ले-अफ स्थान प्राप्त गर्न रोमानियासँगको अन्तिम खेलमा ठूलो अन्तरले हार्नु पर्ने अवस्था सिर्जना भएको छ। यो समाचारले विश्व फुटबलमा चर्चा बटुलेको छ।
यूईएफएको विश्वकप छनोट प्रक्रियामा १२ समूहका विजेताहरू सिधै विश्वकपमा पुग्छन्, भने दोस्रो हुने १२ टोली र २०२४–२५ नेसन्स लिगका उत्कृष्ट चार समूह विजेता (जो समूहमा शीर्ष दुईमा पर्दैनन्) ले प्ले-अफ खेल्छन्। सान मारिनोले नेसन्स लिगको लिग डी समूह जितेर १४ समूह विजेतामध्ये सबैभन्दा कमजोर टोलीको रूपमा स्थान बनाएको छ। प्ले-अफका लागि प्राथमिकतामा सान मारिनो १४औं स्थानमा छ, र उनीहरूले रोमानिया, वेल्स, स्वीडेन वा मोल्डोभामध्ये कुनै एक टोलीले आफ्नो समूहमा शीर्ष दुईमा स्थान बनाउनुपर्छ।
हाल समूह एचको अवस्था यस्तो छ

किन हार्नुपर्छ सान मारिनोले?
नोभेम्बर १५ मा बोस्निया र रोमानियाबीचको खेलमा रोमानियाले जित हासिल गरेमा उनीहरूले दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न सक्छन्। नोभेम्बर १८ मा रोमानियाले सान मारिनोसँग अन्तिम खेल खेल्दैछ। यदि रोमानियाले यो खेलमा ठूलो अन्तरले जित्यो (जस्तै, ५–०), उनीहरूको गोल अन्तर बोस्नियाको भन्दा माथि पुग्न सक्छ, जसले रोमानियालाई समूहको दोस्रो स्थानमा पुर्याउन सक्छ। यदि यस्तो भयो भने, रोमानियाले नेसन्स लिगको आधारमा पाउने प्ले-अफ स्थान खाली हुन्छ, र त्यो स्थान सान मारिनोलाई प्राप्त हुन्छ।
यद्यपि यो परिदृश्य निकै जटिल र कम सम्भावनायुक्त भएको बताईएको छ। सान मारिनोले समूह एचमा कुनै अंक जोड्न सकेको छैन र -३१ को गोल अन्तरले उनीहरूको सिधा छनोट सम्भव छैन। तर, यदि रोमानिया दोस्रो हुन्छ भने, सान मारिनोले प्ले-अफको सेमिफाइनलमा स्थान बनाउन सक्छ। यद्यपि, प्ले-अफमा उनीहरूले बलियो टोलीसँग (पोट १ को दोस्रो स्थान प्राप्त टोली) खेल्नुपर्नेछ, र विश्वकपमा पुग्न दुईवटा खेलमा अप्रत्याशित जित हासिल गर्नुपर्नेछ। सान मारिनोले आफ्नो फुटबल इतिहासमा केवल एकपटक (१९९३ मा) प्रतिस्पर्धात्मक जित हासिल गरेको छ, त्यसैले यो सम्भावना ५% भन्दा कम छ।
तर रोनामियासँगको खेल भारी अन्तरले हारेमा सान मारिनोले विश्वकपमा छनौट हुने सम्भावना भने जिवितै राख्ने छ ।












