जेनजी समूहको प्रदर्शनका क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत जस्ता कयौँ सार्वजनिक तथा सरकारी भवनहरु जले । अहिले भग्नावशेष मात्रै बाँकी देखिने यी संरचना तत्कालै केही सुधार गरेर प्रयोग गर्न सकिने अवस्थामा छन् कि छैनन् ? अहिले सामाजिक सञ्जाल र आपसमा हुने कुराकानीमा यो विषय उठिरहेको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसनले पनि जलेका भवनहरुको प्रारम्भिक परीक्षण गरेको छ । सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र नेपाल बार एसोसिएसनको भवन तत्काल प्रयोग गर्न नमिल्ने निष्कर्ष एसोसियशनको छ । सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र बार एसोसिएसनको भवनमा रातो स्टिकर लगाइएको छ ।
कस्तो अवस्थासम्म जलेका भवन प्रयोग गर्न मिल्छ ?
स्किल सेवाकी को–फाउण्डरसमेत रहेकी बिल्डिङ कन्सल्टेन्ट सताक्षी मिश्र पिल्लर सिस्टम र वाल सिस्टमका घरहरुमा आगो लागेकाले पुनः प्रयोगबारे प्राविधिक जानकारी लिनुपर्ने बताउँछिन् । उनका अनुसार यी घर तथा भवनहरुमा १०० डिग्री सेल्सियस तापक्रममा मात्रै आगो लागेको छ भने थोर थोरै मात्रै चर्किएका हुन्छन् ।
तर, १०० डिग्रीभन्दा माथि ३०० डिग्री सम्मको तापक्रममा जलेको छ भने चर्किने सहित घर तथा भवनको बहन क्षमता पनि घटाउने उनको भनाइ छ । ‘१०० डिग्रीदेखि ३०० डिग्रीसम्मको तापक्रममा जलेका भवन छन् भने क्य्राक आउने त भइ नै हाल्छ, सँगै बलियोपना पनि २० देखि ३० प्रतिशत घट्न जान्छ’ उनले भनिन् ।
यदि ४०० देखि ६०० डिग्री तापक्रम बरारबको आगो लागेको छ भने मुख्य समस्या आउने मिश्र बताउँछिन् । ‘४०० देखि ६०० डिग्री सम्मको तापक्रमले जलेको भवनमा चाहिँ कंक्रिटले डण्डीसँगको बोण्डिङ गुमाउँछ, कंक्रिटले आफ्नो ठाउँ छोडिसकेको हुन्छ’ मिश्रले थपिन्, ‘यो भनेको डण्डी मात्रै देखिने अवस्था हो, यसपछि डण्डीमा आगो लाग्न सुरु हुन्छ ।’
उनका अनुसार डण्डीमा आगो लाग्न थालेपछि डण्डी ‘एक्सपान’ (तन्किने, विस्तार हुने) हुन थाल्छ । यति हुँदासम्म भवनले आफ्नो ५० प्रतिशत बलियोपना गुमाइसकेको हुन्छ । बलियोपना घट्दै जाँदा भवनहरु भत्किन र ढल्न थाल्छन् ।
मिश्रका अनुसार प्राविधिक परीक्षण गर्दा थोरै थोरै ठाउँमा ‘स्ट्रेन्थ’ घटेको छ भने ‘रेट्रोफिटिङ’ गर्न सकिन्छ । यसका लागि पनि पहिला देखिएको डण्डीलाई काटेर त्यसको ल्याब टेष्ट गरेर त्यसले गुमाएको भारबहन क्षमता यकिन गर्नुपर्ने उनको भनाइ छ ।
‘त्यसरी टेष्ट गरेपछि डण्डीको कति क्षमता गुम्यो भन्ने थाहा हुन्छ, त्यसपछि रेट्रोफिटिङ गर्दा हुने रहेछ भने गरेर भवनलाई पुनः प्रयोग गर्न सकिन्छ’ उनले भनिन्, ‘यदि ल्याब टेष्ट गर्दा डण्डीले बलियोपना धेरै नै गुमाएको रहेछ भने भवन नै भत्काउनुपर्ने पनि हुन सक्छ ।’
यसकारण अहिले नै प्राविधिक परीक्षण बिना जलेका भवनहरुको पुनः प्रयोगबारे हतारमा निर्णय लिन नहुने उनको सुझाव छ ।













