नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को बिहिबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे । २५ गतेसम्म आयोजना हुने एक्स्पोको पहिलो दिन नै १५ हजार भन्दा बढीले अवलोकन गरेको नाइमाले जनाएको छ । आज दोस्रो दिन पनि सहभागीहरुको उत्साहजनक सहभागीता रहने नाइमाको विश्वास छ ।
उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी तथा अटोमोबाइल क्षेत्रका अग्रज व्यक्तिहरुको उपस्थितीमा उद्घाटन सम्पन्न भएपछि बुधबार बिहान १०ः३० बाट सर्वसाधारणका लागि प्रदर्शनी खोलिएको थियो ।
उद्घाटन समारोहका प्रमूख अतिथि उप–प्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले आफूले छोटो भ्रमण गरि हेर्दा एक्स्पोको तयारी र व्यवस्थापन उत्कृष्ट रहेको पाएको बताएका थिए । स्थापनाको केहि महिनामै यति ठूलो प्रदर्शनी गर्न सक्नुले नाइमाको क्षमता र कार्यकुशलता भल्काउँछ भन्दै उनले नाइमाको प्रसंशा गरेका थिए ।
कार्यक्रममा नाइमाका अध्यक्ष ऋतु सिंह वैद्य र एक्स्पो समितिका प्रमूख शिरीष कुमार मुरारकाले पनि मन्तव्य दिँदै नेपालको अर्थतन्त्रमा अटोमोबाइल उद्यमीहरुको भूमिका, नवप्रवर्तन र सार्वजनिक–निजी साझेदारीको महत्वमाथि प्रकाश पारेका थिए ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् ।
एक्स्पो साउन २५ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि राती ८ बजेसम्म सर्वसाधारणका लागि खुला हुनेछ ।













