सौर्य उर्जा उत्पादकहरुको संस्था, नेपाल ( SOPPAN) ले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले तयार पारी स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा पठाएको आईजिन समबन्धि कार्यविधिलाई पुनर्विचार गर्न आग्रह गरेको छ । आईपीओ निष्काशन गरि पुँजीबजारमा आउने कम्पनीहरुको प्रमोटर शेयरधनीको लागि नयाँ अईजिन वर्ग लागू गर्ने प्रस्ताव गरीएको प्रति सोप्पानले गम्भीर चिन्ता व्यक्त गरेको हो।
यस प्रस्तावले प्रमोटर शेयरलाई अलग श्रेणीमा डिम्याटेरिअलाइज गरी दोस्रो बजारमा कारोबार गर्न रोक लगाउने उद्देश्य राखेको भन्दै यसले नेपालको बढ्दो ऊर्जा र पूर्वाधार क्षेत्रहरूमा अस्थिरता ल्याउने र राष्ट्रिय आर्थिक लक्ष्यहरू विफल पार्ने जोखिम पैदा हुने सोप्पानले राखेको छ।
नेपालले २०३५ सम्म २८,५०० मेगावाट नविकरणीय उर्जा परियोजना विकास हासिल गर्ने लक्ष्य लिएको छ, जसमा व्यापक सोलार PV र जलविद्युत परियोजनाहरू समावेश छन् । प्रमोटर शेयरहरूको तरलता सीमित गर्दा धैर्यवान् र दूरदर्शी पूँजीको प्रवाह रोकिने तथा जसले उच्च जोखिम र पुँजी – निवेशी नवीकरणीय ऊर्जा लगानीहरू प्रभावित हुने सोप्पानले जनाएको छ।
प्रस्तावित परिवर्तित नियमले विदेशी लगानीकर्ताहरूलाई लाभांश र व्यापारिक आम्दानी फिर्ता पठाउन असजिलो बनाउँने र यसले नेपालमा विदेशी पूँजी आकर्षित गर्ने सरकारको सार्वजनिक प्रतिबद्धतालाई उल्टाइदिने मात्र नभई लगानीकर्ताको विश्वास घटाउँने सोप्पानले उल्लेख गरेको छ ।
सरकारले आर्थिक विकास र दिगो विकास लक्ष्य (SDG) हासिल गर्ने अभियानमा ठूलो प्रयास चलाइरहँदा, CDSC र SEBON जस्ता नियामक निकायहरूले यस्तो प्रतिकूल प्रावधान ल्याइरहेको र यसले नेपालको लगानी स्तर रेटिङ (Investment Grade) थप कमजोर पार्ने सम्भावना बढाउँने तथा भविष्यका पूँजी प्रवाहमा बाधा पुऱ्याउँने तर्फ सोप्पानले सचेत गराएको छ।
सोप्पानले भनेको छ ‘वर्तमानमा नीति निर्माणमा “ दायाँ हातले के गरिरहेको छ, बाँया हात थाहा नपाउने” अवस्था छ । यसले पुँजी बजारलाई कमजोर पार्दै स्वदेशी र विदेशी दुवै लगानीकर्तालाई निरुत्साहित गरिरहेको छ । ” विभिन्न निकायबीच नीति समन्वयलाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकार र सम्बन्धित सबै पक्षसँग सोप्पानले आग्रह गरेको छ ।
ऊर्जा क्षेत्रलाई सुनको फूल पार्ने कुखुरासँग तुलना गर्दै सोप्पानले भनेको छ ‘पूर्वाधार र ऊर्जा क्षेत्र दीर्घकालीन र धैर्यपूर्ण पूँजीको आशामा निर्भर रहन्छ । यी प्रस्तावित प्रतिबन्धले हालै मात्र बढिरहेको लगानी उत्साहलाई मेट्ने खतरा हुन् । सुनको फूल पार्ने कुखुरालाई जोगाउनको साटो मार्ने प्रयास उपयुक्त छैन ।’
अर्थव्यवस्थाभन्दा बाहिर, नेपालले जलवायु अनुकूलन, कार्बन न्यूनीकरण र कम समन्वयमा मजबुत लगानी वातावरण आवश्यक रहेको सोप्पानले जनाएको छ। लगानीकर्ताको विश्वास हराउँदा विषयहरुमा राष्ट्रिय प्रगति ठप्प हुने सम्भावनातर्फ सोप्पानले सचेत गराएको छ ।
सोप्पानले नेपाल सरकार, राष्ट्रिय संसद्, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र सिडीएसलाई प्रतिगामी प्रावधान पुनर्विचार गर्न अनुरोध गरेको छ। नियामकीय स्थिरता, पारदर्शिता र लगानीमैत्री नीतिहरूले मात्र नेपाललाई दिगो विकास र समृद्धिको मार्गमा बनाइराख्ने भन्दै सोप्पानले कार्यविधिमा पुनर्विचार गर्न आग्रह गरेको हो।
यो पनि : इप्पानले भन्यो’आईजिनबारे सिडीएससीको प्रस्ताव लागु भए पुँजीबजारमा गम्भीर संकट आउँछ’









