स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (IPPAN) को विशेष समारोह मध्येको एक ऊर्जा सम्मेलनको नयाँ संस्करण पावर समिट, २०२५ को पूर्वनिर्धारित मिति परिवर्तन भएको छ । यस अघि तय भएको मिति १ र २ असोज, २०८२ को पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएको र उक्त भ्रमणमा इप्पान पदाधिकारीहरुको समेत सहभागीता हुने भएकोले पावर समिटको मिति पछाडि सारिएको इप्पानले जनाएको छ।
इप्पानका अनुसार अब पावर समिट, २०२५ साविककै स्थान सोल्टी होटलमा आगामी ‘२९ र ३० असोज, २०८२ अर्थात १५–१६ अक्टोबर, २०२५ मा आयोजना हुनेछ । सन् २००६ देखि हरेक २/२ वर्षमा आयोजना हुँदै आएको पावर समिटको यो नवौ संस्करणको नारा ‘Mission 28,500 MW: Powering Nepal, Energizing Region’ रहेको छ ।
पावर समिटको मिति परिवर्तनबाट सेवाग्राही र सहभागीहरुमा पर्न गएको असुविधाप्रति इप्पानले क्षमयाचना गरेको छ। नयाँ मितिमा हुने पावर समिटको बाँकी सबै एजेण्डाहरु समान नै रहेकोले यसलाई भव्यरुपमा सफल बनाउन सम्वद्ध सबै सरोकारवाला निकायको साथको अपेक्षा गरिएको इप्पानले जनाएको छ।
सरकारले अघि सारेको सन २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पुरयाउने ऊर्जा विकास मार्ग चित्र, २०८१ को सफल कार्यान्वयनमा सहयोग पुरयाउन र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रिय बजारमा व्यापार गर्न/गराउन ३० भन्दा धेरै देशका लगानीकर्ताहरु, कुटनीतिक तथा विकास साझेदार नियोगका अधिकारीहरु, सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनीधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एउटै छानामुनी भेला गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुकोबारे नीतिगत बहस गर्ने मुख्य उद्देश्यले इप्पानले पावर समिटको नवौं संस्करण आयोजना गर्न लागेको हो ।
यो समिटलाई नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको संरक्षकत्व प्राप्त भएको छ भने कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहने तय भइसकेको छ । प्रधानमन्त्रीबाट समिटको समुद्घाटन गराउने लक्ष्य राखिएको इप्पानले जनाएको छ ।
नेपालको हरित ऊर्जा नेपालको समृद्धिको मात्र वाहक नभइ, एशियाकै आर्थिक विकासको पूर्वाधारको रुपमा उपलब्ध हुनुपर्छ भन्ने मान्यता रहेको इप्पानले जनाएको छ। त्यसका लागि आन्तरिक तथा बाह्य क्षेत्रमा के कस्ता रणनीतिहरु लिन तथा बनाउन आवश्यक छन् भन्ने विविध विषयहरुमाथि समिटमा छलफल हुने इप्पानले उल्लेख गरेको छ।









