गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड बराबरका वस्तु तथा सेवा आयात गर्यो । जबकी, कुल निकासी भने जम्मा २ खर्ब ७७ अर्ब ३ करोडको मात्रै गर्न सक्यो । यस आधारमा गत आर्थिक वर्षमा नेपालले १५ खर्ब २७ अर्ब ९ करोडको ब्यापार घाटा ब्यहोरेको छ ।
यो निराशाजनक वैदेशिक ब्यापार घाटाको अंक हेरिरहँदा एउटा यस्तो ग्रुप पनि छ, जसले निकासी बढाउन हरदम प्रयत्न गरिरहेको छ । हो, सिङ्गो देश नै आयातमा निर्भर भइरहेका बेला गोल्यान ग्रुपले भने निकासीलाई केन्द्रमा राखेको छ । हालै मात्रै सरकारबाट महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी) सम्मानमार्फत गोल्यान ग्रुप अन्तर्गतका दुइ उद्योग सम्मानित भएका छन् ।
भारततर्फ निकासी रकमको आधारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु (पश्मिना) निकासी गर्ने ट्राइकोट इण्डष्ट्रिजले सीआईपी सम्मान प्राप्त गरेका हुन् । यी दूबै उद्योग गोल्यान ग्रुप अन्तर्गतका उत्पादनमूलक मात्रै नभई, निर्यातमूलक उद्योग हुन् । रिलायन्स स्पिनिङ मिल्सले दोस्रो पटक यो अवार्ड पाएको हो ।
ट्राइकोट इण्डष्ट्रिज
गोल्यान समूह अन्तर्गतको ट्राइकोट इण्डष्ट्रिजले आर्थिक वर्ष २०८०/०८१ मा ७८ करोड बराबरका पश्मिना निर्यात गरेको छ । उद्योगबाट उत्पादित पश्मिना इटली, जर्मनी, फ्रान्स, अमेरिका, भारत, नेदरल्याण्डसहित सबैजसो युरोपियन देशहरुमा पुग्छ ।
विराटनगरमा रहेको फ्याक्ट्रीबाट उत्पादित पश्मिनाका सामानहरुको निकासी बढ्दो क्रममा रहेको उद्योगका प्रबन्ध निर्देशक शक्ति कुमार गोल्यानको भनाइ छ । उनका अनुसार ट्राइकोट इण्डष्ट्रिजबाट उत्पादित सामानको गुणस्तरीयताले विश्व बजारको ध्यान तानिरहेको छ ।
यस उद्योगमा ४०० जनाभन्दा बढीले रोजगारी पाएका छन् । अझ गजबको विषय यो छ की, रोजगारी पाएकामध्ये महिला २५० भन्दा बढी छन् भने पुरुष १५० जनाको हाराहारीमा छन् ।
रिलायन्स स्पिनिङ मिल्स
२०५४ सालमा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्स मुलुककै सबैभन्दा ठूलो स्पिनिङ उद्योग हो । यस उद्योगले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन र निकासी गर्दै आएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८०/०८१ मा १२ अर्ब ४९ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ ।

२०८१ पुसमा उत्कृष्ट रोजगारदाता उद्योगका रूपमा सम्मानित भएको रिलायन्स स्पिनिङ मिल्स २०८०/०८१ मा सबैभन्दा धेरैलाई रोजगारी दिने उद्योगका रुपमा समेत सम्मानित भएको थियो । गोल्यान ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यानका अनुसार रिलायन्स स्पिनिङ मिल्समा मात्रै ४ हजार बढीले रोजगारी पाएका छन् । उद्योगमा कार्यरत जनशक्तिलाई आवासीय सुविधा दिइएको छ ।
सुनसरीको खनार र दुहबीमा रहेका दुई वटा फ्याक्ट्रीमार्फत उत्पादित उच्च गुणस्तरका धागो उद्योगले भारत, टर्की लगायतका देशमा निर्यात गर्दै आएको छ । विशेष कुरा त के छ भने, यस उद्योगमा कार्यरत सबै जनशक्तिलाई उद्योगले सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ ।
यस बीचमा रिलायन्सको उत्पादन क्षमता दैनिक दोब्बार मात्रै भएको छैन, जनशक्तिको लगनशीलता र प्रतिवद्धताले थप उचाइ पनि लिँदैछ ।
ठूलो रोजगारदाता: गोल्यान समूह
नेपालमा ख्यातीप्राप्त औद्योगिक घरानाका रुपमा करिब ७ दशकदेखि अनवरत क्रियाशील रहेको गोल्यान ग्रुप मुलुकको ठूलो रोजगारदाता हो । २०८०/०८१ मा नेपाल समुद्रपार निकासी पैठारी संघले रिलायन्स स्पिनिङ मिल्सलाई उत्कृष्ट रोजगारदाताका रुपमा सम्मान पनि गरेको थियो । रिलायन्स स्पिनिङ मिल्स एउटैले ४ हजार बढीलाई रोजगारी दिएको छ ।
गोल्यान समूहमार्फत अहिले १० हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । ‘दैनिक ३ हजार युवाहरु रोजगारीको खोजीमा विदेश गइरहेका छन्, उनीहरुलाई स्वदेशमै रोक्नका लागि उद्योगधन्दाको विकास नै आजको आवश्यकता हो’ अक्षय गोल्यान भन्छन्, ‘एउटा ग्रुपका रुपमा हामीले १० हजार बढीलाई रोजगारी दिएका छौँ, हामी अझै हाम्रा ग्रुप अन्तर्गतका उद्योगहरुको उत्पादन क्षमता बढाउँदै रोजगारीलाई पनि बढाउँदै लैजाने अभियानमा छौँ । हामी केवल कम्पनी मात्रै बनाइरहेका छैनौँ, हामी मुलुकको प्रगतिमा इँटा पनि थपिरहेका छौँ ।’
नेपालका सीमा क्षेत्रमा रहेका उद्योगहरुमा भारतीय कामदारहरु बढी हुन्छन् । तर, गोल्यान समूहका उद्योगहरुमा भने स्वदेशी जनशक्ति नै छन् । सीप नभएका व्यक्तिलाई पनि तालिम दिएर सीपयुक्त बनाउँदै रोजगारी प्रदान गर्ने गरिएको छ ।
‘फ्रेस मान्छेलाई पनि हामी तालिम दिन्छौँ, उसलाई सीपयुक्त बनाएर राख्छौँ’ अक्षयले भने, ‘स्थानीय जनशक्तिलाई रोजगारी दिएर उनीहरुको जीवनस्तर माथि उठाउने गोल्यान ग्रुपको लक्ष्य नै हो ।’












