बिवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंककी प्रबन्ध निर्देशक यामुना श्रेष्ठले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले अटोमोबाइल्स क्षेत्रमा स्थिरताको झल्को दिएको बताएकी छिन् । बजेटबारे बिजनेश पानासँग कुराकानी गर्दै नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालकी सदस्यसमेत रहेकी उनले अटोमोबाइल्स व्यवसायीहरुले विगतदेखि स्थिर नीतिको कुरा गर्दै आएकोमा आगामी आर्थिक वर्षको बजेटले भने केही हदसम्म स्थिरताको झल्को दिएको बताएकी हुन् ।
ईभीको कर नबढाउनु निकै सकारात्मक कदम भएको र यसले अटोमोबाइल्स क्षेत्रमा स्थिरताको सन्देश दिएको प्रबन्ध निर्देशक श्रेष्ठ बताउँछिन् । ‘हामीले स्थिर नीतिको कुरा गर्दै आएपनि विगतमा त्यस्तो अनुभूति गर्न पाएका थिएनौँ, यसपाली भने प्राक्टिकल्ली रुपमा अटोमोबाइल्स सेक्टरले नीतिगत स्थिरताको अनुभूति गर्ने खालको बजेट आएको छ’ उनले भनिन् ।
ईभीको चार्जिङ मेशिन उत्पादन तथा एसेम्बलिङ उद्योगका उपकरण आयातमा १ प्रतिशत मात्रै भन्सार महशुल लगाएर अन्य कर हटाउनु सकारात्मक भएको श्रेष्ठको भनाइ छ । यस्तै, सार्वजनिक यातायातमा पनि विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने, साझा यातायातलाई थप १०० वटा ईभी थप्ने जस्ता प्रावधानहरुलाई पनि सकारात्मक रुपम लिन सकिने बताउँदै उनले सडक पूर्वाधारको विकासलाई पनि प्राथमिकतामा राखेको बताएकी छिन् ।
अटोमोबाइल्स मात्रै नभई सोलार र क्लिन इनर्जीको विकास गर्ने, अध्ययनरत युवाहरुलाई हप्तामा २० घण्टा काम दिने जस्ता कुराहरु पनि स्वागतयोग्य रहेको श्रेष्ठको भनाइ छ ।












