नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा.विश्वनाथ पौडेल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । उनको कार्यकाल ५ वर्षको हुने छ।
यस अघि आज नै बसेको गभर्नर सिफारिस समितिको बैठकले गभर्नरको लागि ३ जनाको नाम सिफारिस गरेको थियो। जसमा डा. पौडेलको नाम एक नम्बरमा सिफारिस भएको थियो। पौडेलसंगै हाल कामु गभर्नरको जिम्मेवारीमा रहेकी डेपुटी गभर्नर डा. निलम तिम्सिना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो। ति मध्येबाट पौडेल गभर्नर नियुक्त भएका हुन् ।
अर्थशास्त्री रहेका पौडेलले अमेरिकाबाट एग्रिकल्चर एण्ड रिसोर्स इकोनोमिक्समा पीएचडी गरेका छन्। उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पनि भैसकेका छन्। पौडेल हाल काठमाडौं विश्वविद्यालयका प्रोफेसर हुन् । उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव पनि छ । उनले विश्वबैंकको लागि कन्सल्टेन्टको रुपमा पनि काम गरिसकेका छन् । उनी सानिमा बैंक र सानिमा मिडिल तमोर हाइड्रोको संचालक पनि भएका थिए।













